सकारात्मक र सम्भावनाको बहस थाल्नुपर्नेमा जाेड

बुटवल,१६ भदौ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कने क्रममा रहेको बताएका छन् । शुक्रबार बुटवल जेसिजको स्वर्ण जयन्ती समारोहको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालको अर्थतन्त्र धेरै निराश हुनु पर्ने अवस्थामा नरहेको दाबी गरे । निराशाको बहसलाई अन्त्य गरी सकारात्मक र सम्भावनाको बहस अगाडि बढाउनु पर्नेमा जाेड दिए ।

उनले अब मुलुकको अर्थतन्त्र उठ्ने दाबी गर्दै निराशाको बहसको अन्त्य हुन जरुरी रहेको बताए । ‘अर्थतन्त्रमा केही समस्याहरु भए पनि निरास हुनुपर्ने अवस्था छैन । निराशाको बहसको अन्त्य हुन जरुरी छ । अब सकारात्मक बहस गरौं ।’-महतले भने, ‘म अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिरहेको छु ।’

सरकारले अर्थतन्त्र सुधारका लागि सम्पूर्ण क्षमता लगाई रहेको बताउँदै उनले कोरोना महामारीको समयमा करिब २र३ वर्ष ठप्प हुँदा त्यसको असर अहिले देखा परेको बताए । उनले अर्थतन्त्र पुनः लयमा फर्किने क्रममा रहेको पनि दाबी गरे ।

अर्थतन्त्र बिग्रीएको भन्दै आयात रोक्दा धेरै नकारात्मक सन्देश गएको उल्लेख गर्दै अर्थमन्त्री महतले राष्ट्र बैंकले ब्याजदरमा कसिलो नीति ल्याउँदा थप समस्या पैदा भएको बताए ।

उनले कतिपय पूर्वाधार निर्माणमा भएका धिलासुस्तीप्रति समेत चासो व्यक्त गर्दै साना तिना कुराहरुले पनि बिकासमा अवरोध हुने गरेको गुनासो गरे । ‘निर्माण हुँदै गरेको बुटवल-नारायणगढ सडकको स्तरवृद्धिमा भएको ढिलासुस्ती वा अन्य योजनाहरुमा समेत साना तिना कुरालाई अघि सारेर बिकासलाई अबरोध गर्ने काम राम्रो होइन ।’ उनले भने ।

बुटवल र समग्र रुपन्देहीले आर्थिक बिकासमा प्रशस्त सम्भावना बोकेको बताउँदै उनले प्रदेश राजधानी दाङ सर्दैमा कुनै असर नपरेको दाबी गरे । उनले भैरहवामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन आउने आश्वासनसहित बुद्ध जन्मस्थल लुम्बिनीको बिकाससँगै पर्यटकीय र आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, तिलोत्त्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण, नेपाल जेसीजका पुर्व रास्ट्रिय अध्यक्ष दिनेश कोइराला, बुटवल उद्योग वाणिज्य सघका वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बुटवल जेसिजका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक मनाेज भट्टराईले जानकारी दिए ।