काठमाडौँ,१५ असार ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै आंगीक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का संरचना हटाउन निर्देशन दिएपछि कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।

नेविसंघले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन तुरुन्त स्थगित गर्न माग गरेको हो ।

‘संघ त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयलाई संविधानको पालना गर्दै सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशको तत्काल सम्मान गर्न र यो विवादित पत्र एवं निर्देशनलाई तुरुन्त स्थगित गर्न जोडदार माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालयहरूमा विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को संरचनामाथि फेरबदल गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतले वैशाख २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गरी उक्त कार्यलाई यथास्थितिमा राख्न स्पष्ट रोक लगाइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘अदालतको उक्त आदेश बहाल रहँदारहँदै, त्यसको डेढ महिनापछि असार ९ मा मन्त्रालयले पत्र काट्नु र असार १५ मा त्रिविले निर्देशनात्मक पत्र जारी गर्नु स्पष्ट रूपमा अदालतको अवहेलना हो,’ अध्यक्ष करुणा कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै बलजफ्ती कदम चालिएमा शान्तिपूर्ण एवं रचनात्मक संघर्षका मार्गहरू अपनाउन बाध्य हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

सोमबार त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले मातहतका सबै आंगिक क्याम्पसलाई पत्र पठाएर स्ववियुका संरचना हटाउन भनेको छ ।

निर्देशनालयका उपप्रशिक्षक सन्देशकुमार रेग्मीको हस्ताक्षर रहेको पत्रमा ६० दिनभित्र दलिय विद्यार्थी संगठन हटाउन भनेको छ ।

यससँगै निर्देशनालयले स्ववियुको ठाउँमा ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ गठन गर्न पनि भनेको छ । पत्रमा ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ गठन गरी त्यसको जानकारी निर्देशनालयमा गराउन भनिएको छ ।