काठमाडौं,१० भदौ ।
नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

यही भदौ १२ भदौ गते मंगलबार देखि काठमाडौंलाई ट्रान्जिट बनाएर निगमले हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो ।

भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

उडान तालिका अनुसार बिहान ८:१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्ने छ । तत्पश्चात ट्रान्जिट भइ हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् ।

यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
यात्रुहरुले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी निगमको टिकट किन्न सक्ने भएका छन् । यसअघि निगमले क्वालालाम्पुरलाई भैरहवासँग जोडेर नियमित उडान गरिरहेको छ । निगमको यो उडानसँगै अब भैरहवामा समेत यात्रुले सहज सेवा पाउने अपेक्षा गरिएको छ ।