“औद्योगिकविकासलाई परनिर्भर बनाउने खतरा”

बुटवल, ७ भदौं ।
नेपाल अल्पविकसित मुलुकबाट विकासशीलमुलुकमा स्तरोन्नति भएपछि आउने चुनौतिहरुका बारेमा प्रर्याप्तमात्रामा तयारी नहुदा त्यसले हाम्रो आत्मनिर्भरता र औद्योगिक विकासको गतिलाई परनिर्भर बनाउने खतरा बढी भएको बताउदै उद्योगीहरुले त्यसमा गंभिर बनेर तयारी गर्न सुझाव दिएका छन् ।

रुपन्देही उद्योग संघको आयोजनामा विहिवार रुपन्देहीको तिलोत्तमामा भएको छलफल कार्यक्रममा उद्योगीहरुले आफुहरु अल्पविकसित मुलुकबाट विकासशील मुलुक बन्नलागेमा खुशीहुने कि दुखिहुने दुविधाको अवस्थामा रहेको बताए ।

उद्योग र औद्योगिक विकासको क्षेत्रमा देखिएका समस्याले उत्पादकत्वमा हस आएको एवं त्यसले विकासशील मुलुकको मापदण्ड कागजी मापदण्ड मात्र हुने उनिहरुले टिप्पणी गरे ।

उनीहरुले अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन आय, आर्थिक जोखिम र मानव सम्पत्तिसँग सम्बन्धित तीनवटा सूचक तय गरिएको ति सूचक दिनप्रतिदिन खस्कदो अवस्थामा रहेको तथा उद्योग उत्पादनको क्षेत्र धाराशाही बनेको हुदा पछिका दिन अझ जोखिमपूर्ण रहेको गुनासो गरेका थिए ।

उद्योगीहरुले अतिकम विकसित देशको स्थानमा कायम रहनुभन्दा स्तरोन्नतिमा जानु हामी सबैको लागि राम्रो हो तर अस्थिर राजनीति, उद्योग मैत्रीकानुनको अभाव, चर्को लगानी ऋण र दक्ष जनशक्तिको पलायनले प्रतिस्पर्धी क्षमता भुत्ते भएर दिगो औद्योगीक विकास हुन नसक्ने चिन्ताव्यक्त गरे ।

कार्यक्रममा विषय बस्तु प्रस्तुतगर्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्दराज पाण्डेले न्यून आय भएका र अर्थ–सामाजिक विकास कम भएका देशलाई जनाउने अतिकम विकसित देशको सूचीबाट विकासशील देशको सूचीमा पुग्ने कुरा उद्योगीहरुकालागि खुशीको विषय भएको बताउदै त्यसबाट आउन सक्ने चुनौतिको बारेमा समयमै सचेत हुनु जरुरी भएको उल्लेख गरे ।

उपाध्यक्ष पाण्डेले अन्तर्राष्ट्रिय मञ्चमा कुनै पनि विकासशील राष्ट्रलाई हेर्ने वजन र प्रतिनिधित्वको अंशपनि बढ्नुकासाथै त्यसले विदेशी लगानीलाई आकर्षण गर्न बल पु¥याउने बताए । उनले विश्वजगतलाई नेपालको अर्थतन्त्र अग्रगामी छ भनेर राम्रो सन्देश दिन र लगानीकर्ता आकर्षित गर्न पनि अब स्तरोन्नतिमा जानु जरुरी छ तर त्यसभन्दा अगाडी धेरै कानुनहरु परिमार्जन र निमार्णमा राज्यले ध्यानदिनु पर्ने कुरामा जोड दिए ।

पाण्डेले नेपालमा उद्योग क्षेत्रका समस्याहरु धेरै रहेको हुदा स्तरोन्नति पछि थप संकट आउन सक्नेप्रति उद्योगीहरुले राखेको चासोलाई उद्योग परिसंघले सरकारलाई अवगत गराएको बताउदै सम्पत्तिको संरक्षणमा थप कानून निर्माण तथा तिनको कडाईका साथलागू गर्न आग्रह गरे ।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलको अध्यक्षता, महासचिव हरि बहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका लुम्बिनी उद्योग परिसंघका अध्यक्ष एजाज आलम, उद्योग परिसंघ पूर्व अध्यक्ष डम्बरदेव अर्याल, गणेश प्रसाद अधिकारी, सल्लाहाकार भुपालकुमार श्रेष्ठ,संघका वरिष्ठ उपाध्यक्षदिलिप सापकोटा,कार्य समिति सदस्य चन्द्रकान्त खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, उद्योगीहरु कन्हैयालाल कसौधन, मुकुन्द ज्ञवाली, रामप्रसाद खनाललगायतले जिज्ञाशा र धारणा राखेका थिए ।