मोरङ,६ भदौ ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दलका शीर्ष नेताहरु बालुवाटारमा बसेर संविधानविरोधी निर्णय गर्दै आएको टिप्पणी गरेका छन् । नेताहरुले कोठामा बसेर निरन्तर संविधानविरोधी निर्णय गर्दै अघि बढ्दा मुलुक भयावह दुर्घटनाको अवस्थामा पुगेको उनले बताए ।

बुधबार मोरङको सुन्दरहरैंचामा आयोजित दुलारी सरोकार मञ्चको वाषिर्कोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले संविधानले एउटा अधिकार दिएको, तर नेताहरुले संविधानलाई आफू अनुकूल व्याख्या गरेर दुरुपयोगको प्रयास गरिरहेको बताए ।

‘संविधानले एउटा अधिकार दिएको छ तर नेताहरु एकठाउँमा बस्नुहुन्छ र आफू अनुकूलका निर्णय गर्नुहुन्छ, यसरी देशलाई कहाँ पुर्‍याउन खोजेको हो?,’ नेता कोइरालाले प्रश्न गरे ।

कोशी प्रदेश सरकारको बिश्वासको मतबारेको प्रसंगमा कोइरालाले भने, ‘अदालतले जे नगर्नु भन्यो शीर्ष नेताहरु बसेर फेरि त्यही गर्नुभयो । संविधान र अदालतमाथिको यस्तो बल मिच्याईं कहिले सम्म चल्ने हो ?’

उनले राजनीतिक दलहरुको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सद्भावसमेत बिथोलिएको बताए ।