झापा,३ भदौ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पु¥याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् ।
आइतवार नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबिनको प्रक्रिया शुरु गरेकामा केही आशा जगाएको बताए । ती सबै फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए ।
विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानबिन गरी दण्डित गरिनुपर्ने भन्दै उनले चुनौतीलाई अवसरका रूपमा बदल्न कांग्रेसले अगुवाइ गर्नुपर्ने बताए ।
केही दल आउँदो आमचुनावमा जित–हारको मात्र चिन्ता गरेर बसेको उल्लेख गर्दै उनले त्यो चिन्ता पार्टीको मात्र स्वार्थ भएकाले अवसर प्राप्तिका लागि सरकार अघि बढ्नुपर्ने आवस्यकता औल्याए । महामन्त्री थापाले देशमा छाएको निराशाको मौका छोपी केही नयाँ दलले व्यापार गर्न थालेको टिप्पणी समेत गरे । उनले कांग्रेसका नेता तथा कार्यकर्ता चुनावका लागि मात्र नभएर नागरिकको जिवन परिवर्तनको निम्ति सक्रिय भई जुट्नुपर्ने बताए ।







