बुटवल,१ भदौ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट नयाँ ब्यवस्थापनकासाथ सञ्चालन हुने भएको छ ।

लामो समयदेखि संचालन घाटा ब्यहोरिरहेको रिसोर्ट ६० दिन भित्र पूर्णरुपमा संचालनमा ल्याउने तयारी भएको नयाँ सञ्चालनकहरूले जनाएका छन् ।

रिसार्टको नयाँ ब्यवस्थापनले आज पत्रकार सम्मेलन गरी २ महिना भित्रमा रिसार्ट पूणृरुपमा संचालनमा ल्याउने जनाएको हो ।

गैर आवासीय नेपालीहरुको लगानी रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले रिसोर्टको सम्पूर्ण शेयर खरिद गरेर ६० दिन भित्रमा पूर्णरुपमा संचालनमा ल्याउने तयारी गरेको हो ।

केही गैरआवासीय नेपालीले हालसम्म संचालन गरिरहेको अष्ट्रेलियन् कम्पनी सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण स्वामित्व खरिद गरी नयाँ व्यवस्थापनका साथ टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागिएको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए

यसअघि टाइगर प्यालेस रिसोर्ट अष्ट्रेलियन् कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले लगानी गरी सञ्चालन गर्दै आएको थियो। सिल्भर हेरिटेजले रिसोर्ट तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब रु पाँच अर्ब लगानी गरेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएका सबै शेयर खरिद गरी नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालनमा ल्याइएको बताए ।

हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अष्ट्रेलियाली कम्पनीको सबै शेयर खरिद गरेको हुँदा टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमा हस्तान्तरण हुन आएको उनलेे बताए ।

आफ्नो जन्मभूमिप्रतिको दायित्वबोध गरी बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेर सञ्चारन गर्ने प्रयास गरिएको उनकाे भनाइ छ ।
कानुनीरुपमा सम्पूर्ण प्रक्रिया पुरा गरि आफुहरुले रिसोर्टको शेयर खरिद गरेको जनाउँदै उनलेे अदालतको आदेश, नेपाल सरकारको नियम र स्थानीयबासीको भावना अनुसार रिसोर्ट संचालन गरिने बताए ।

अध्यक्ष सुबेदीले सट्टानभर्नाको सहमति अनुसार रिसोर्टले ओगटेको क्षेत्रफल बराबरको जग्गा संरक्षण गरेर रिसोर्टको कम्पाउण्ड बाहिर राखिएको बताए । कानुनले नदिए सरकारी जग्गा उपभोग गरेको क्षेत्रफलको भाडा सरकारलाई तिर्न पनि आफुहरु तयार रहेको उनले बताए ।

रिसोर्टबाट कमाएर विदेश लैजाने आफुहरुको कुनै उद्देश्य नरहेको उल्लेख गर्दै अध्यक्ष सुबेदीले कमाई भएको सबै मुनाफा नेपालकै ब्यवसायमा लगानी गर्ने जानकारी दिए ।

रिसोर्टका संचालक दीपकदत्त गौतमले पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठूला लगानीका पर्यटन उद्योगहरू धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद नभएको बताए । अन्तरराष्ट्रिय क्षेत्रमा रहेको सहुलियत र सुबिधालाई छाडेर आफुहरुले मातृभूमीमा केही गरौं भनेर यहाँ लगानी गरेको उनलेे बताए ।

स्थानीयबासीसंगको सहकार्य र समन्वयलाई आफुहरुले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनलेे सकेसम्म पुराना श्रमिकहरुबाटै सेवा संचालन गरेर श्रम सम्बन्धि समस्या समाधान गर्ने तर्फ आफुहरुको ध्यान रहने बताए । उनले सिल्भर हेरिटेजसँग १५ मिलियनमा शेयर कारोबार गरेको जानकारी दिँदै रिसोर्टको बैंक तथा सबै दायित्व पूरा गर्दा थप ४ अर्व लगानी आवश्यक पर्ने बताए ।

रिसोर्टको नयाँ लगानीकर्ताहरुमा सुबेदी र गौतम सहित कुल आचार्य, देव भुसाल र रामजी मरासिनी रहेका छन् । अन्य केही लगानीकर्ताहरु पनि लगानी गर्न इच्छुक देखिएकाले लगानीकर्ता थपिन सक्ने संचालक गौतमले बताए ।

रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएका थिए ।

उक्त रिसार्टले नेपाल सरकारलाई करोडौँ रकम राजस्वसमेत तिर्दै आएको र कोभिड महामारी तथा रिसोर्ट सञ्चालनका क्रममा देखिएको आन्तरिक विवादका कारण केही वर्षदेखि रिसोर्ट पूर्णरूपमा सञ्चालन हुन सकेको थिएन ।

रिसोर्ट पूर्णरूपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको पनि करोडौँ रकम राजस्व पनि गुम्दै गएको थियो ।