विराटनगर,२४ साउन ।
आफ्नै छोरीलाई विषादी खुवाएको आरोपमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका-२ का अर्जुन कामत रहेका छन् ।

सुनसरी प्रहरीका अनुसार मंगलबार राति मदिराले लठ्ठ बनेर घर पुगेका कामतले २० वर्षीया छोरी राधिकालाई जबरजस्ती तरकारीमा हाल्ने विषादी खुवाएका थिए ।

बुवाले जबरजस्ती विष खुवाएपछि बिरामी बनेकी राधिकालाई कोशी अस्पताल विराटनगरमा लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए ।

छोरी राधिकाको उक्त अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीयका अनुसार घरमा कुटपिट हुने डरले राधिका साथीको घरमा जाने गरेकी थिइन् ।

‘बिहे गर्ने उमेरकी छोरी अर्काको घरमा गएर बसेर मेरो बेइज्जत गर्ने’ भन्दै उनले छोरीलाई विष खुवाएको प्रहरीकाे भनाइ छ ।