सर्लाही,१० साउन ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभाग सर्लाहीका अनुसन्धान अधिकृत मृत फेला परेका छन् ।

जिल्लाकाे ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि आज बिहान मृत फेला परेका हुन् ।

उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल साेही ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जस्तो देखिएको र विस्तृत अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार उनी ड्युटी सकेर राति घर फर्किइरहेका थिए । राति परिवारलाई फोन गरेर म राति १० बजेतिर घर आइपुग्छु भन्ने जानकारी गराएका उनि राति अबेरसम्म घर नगएपछि
सोधीखोजी गर्दा आज बिहानमात्र दुर्घटनाग्रस्त अवस्थामा मृत फेला परेकाे प्रहरीले जनाएको छ ।

एसपी सुवेदीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।