राजन पाण्डे
कविता
हिजो,
पद छँदा,
साधन र शक्ति थियो।
अधिकार र अख्तियारी थियो।

तेल घस्ने,
मुठी कस्ने,
हजुर त क्या वात भन्ने ताँती थियो।

पदलाई भँज्याएर,
तर मार्ने अवसर थियो।

अरूको अधिकारलाई पनि,
आफ्नो निगाहा ठानियो।
सार्वजनिक स्रोतलाई पनि,
आफ्नै बाउको विर्ता मानियो।

तर आज दिन फेरिएको छ,
पदबाट निवृत्त छु।

पदसँग ज‍ोडिएका सम्मानहरू
पदसँगै सकिएका छन्।
मेरा हर कुरामा ज्यू-ज्यू गर्नेहरू
चिया पसलमा मेरा गल्तीहरू सम्झाउँछन् अरे।

चहल पहल जिल्ला सदरमुकाम अन्तै सरेजस्त‍ो,
सुनसान छ जीवन,

आज बुझ्दैछु।
पदसँग जोडिएको प्रतिष्ठा भन्दा
सानै भए पनि,
कामसँग ज‍‍ोडिएको प्रतिष्ठाले दिल छुँदो रहेछ।
आँत भरिँद‍ो रहेछ ……
समाजको खाँचो र साँचो भैदो रहेछ।।।।
साहित्यपाटी