बुटवल,१२ साउन ।
नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा रूपन्देहीले उत्कृष्ट रक्तदाताहरूलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

६१ औं रक्त सञ्चार सेवा दिवसकाे अवसरमा मंगलबार रूपन्देहीको तिलाेत्तमामा एक कार्यक्रमकाबीच उत्कृष्ट रक्तदाताहरूलाई पुरस्कृत तथा सम्मानित गरेको हो ।

साे अवसरमा ४ हजार १७९ युनिट रक्तदान गरेर नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही प्रथम भएको छ भने १ हजार ७२४ युनिट रक्तदान गर्ने नेपाल नियमित रक्तदाता संघ रूपन्देही द्वितीय र नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखा तृतीय भएको छ ।

उनिहरूलाई कार्यक्रमका प्रमुख अतिथि तिलाेत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण,चन्द्रकाेट गाउपालिका गुल्मीका अध्यक्ष युवराज केसीलगायतले पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरेका हुन् ।

कार्यक्रममा तिलाेत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले रेडक्रस साेसाइटी जस्तो मानवीय सेवा गर्ने संस्थालाई बलियो बनाउनुपर्नेमा जाेड दिए ।

नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा रूपन्देहीका सभापति रामचन्द्र उपाध्यायकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी,नेपाल रेडक्रस साेसाइटी सैनामैना शाखा अध्यक्ष मिना भण्डारी,स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चाैहान क्षेत्री,नेपाल नियमित रक्तदाता समाजका अध्यक्ष आशिष सिलवाललगायतले रक्तदान गर्ने कार्यलाई प्राेत्साहन गर्नुपर्नेमा जाेड दिए ।