इटहरी,६ साउन ।
सुनसरीको इटहरीमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा चारजना चढेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा परी चारै जना गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

दुर्घटनामा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको उपचारका क्रममा मृत्यु भएको डिएसपी राजकुमार राईले जानकारी दिए ।

दुर्घटनाबाट २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

चार जना सवार मोटरसाइकल अनियन्त्रित भई पिकअप भ्यानसँग ठोक्किएको प्रहरीको अनुमान छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए ।