बुटवल,३० असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको बिवाद सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको छ ।
आगामि मंसिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उदेस्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेका कार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको सतहमा आएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सैनामैना र्यापिट एक्शन टिम संयोजक दामोदर खत्रीले बिधान अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने आवाज उठाउदा पार्टीका प्रदेश उपसभापति शालिकराम घिमिरे,रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रिय सदस्य विक्रम तिवारी लगायतको समूहले राति ९ बजेको समयमा पार्टी कार्यालयमा बोलाई आफुलाई कुटपिट गरेको र उल्टै आफु बिरुद्ध कुटपिटको उजुरी दिएको बताए ।
उनले शनिबार बुटवलको बेलबासमा पत्रकार सम्मेलन गरी पार्टीलाई बिधान अनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन प्रदेश उपसभापति घिमिरे,जिल्ला संयोजक ज्ञवाली,क्षेत्रिय सदस्य तिवारीको समूहले आफुसँग अनुचित प्रस्ताव राखेको र उनिहरुको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको बताएका हुन् ।
पार्टी बिधानको धारा १३ (ङ) मा सरकारी विद्यालयमा पढाउने ब्यक्ति कुनै पनि पदमा नरहने ब्यवस्था रहेको भए पनि जिल्ला संयोजक ज्ञवाली रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ पिपरहीया स्थित बालविकास आधारभुत विद्यालयमा पढाउने शिक्षक भएको र उक्त कुरा उठाउदा आफुमाथि कुटपिट भएको बताए ।
प्रदेश उपसभापति घिमिरेले क्षेत्रिय निर्वाचनमा पदीय मयार्दा बिपरित मतदातालाई प्रभावमा पारी मतदाताको मोबाईलबाट आफैले मत हाल्नेसम्मको कार्य गरेको र सो कुराको बिरोध गर्दा षडयन्त्रपूर्वक आफ्नो सदस्यता खारेज गर्ने र कुटपिट गरिएको खत्रीको आरोप छ ।
गत बुधबार राती आफुलाई पार्टीको सैनामैना नगर समितिको कार्यालयमा बोलाई प्रदेश उपसभापति घिमिरे,जिल्ला संयोजक ज्ञवाली र क्षेत्रिय सदस्य तिवारीको समूहले आगामि मंसिरमा हुने अधिवेशनमा नेतृत्व हत्याउन बिभिन्न खाले प्रलोभन देखाएको र आफुले बिधानको कुरा उठाउदा बिवाद उत्पन्न भएपछि आफु बाहिर निस्किएको र पछि उनिहरु पनि बाहिर आएर आफुमाथि आक्रमण भएपछि आफुले प्रतिरक्षा मात्रै गरेको उनले बताए ।
आफुमाथि कुटपिट भए पनि पार्टी भित्रको कुरा भनेर आफुले प्रहरीमा उजुरी नगरेको तर उनिहरुले उल्टै आफु बिरुद्ध उजुरी दिएको उनको भनाई छ ।
भर्खरै गठन भएको पार्टीमा गुटबन्दी गर्न नहुने र पार्टीलाई बिधान अनुसार चलाउनुपर्छ भन्दा उल्टै कारबाही गर्ने र स्थापना कालदेखि निस्वार्थ रुपमा पार्टीमा लागेका ब्यक्तिलाई त सदस्नै होइनस् भनेर कुटपिटमा समेत उत्रिने नेतृत्व रहेसम्म संगठन बलियो हुन नसक्ने निस्कर्षकासाथ आफु आजैदेखि पार्टीमा नरहेको घोषणा समेत उनले गरे ।








