बुटवल,१८ असार ।
आफ्नै सन्तान भनेर झुठा विवरण पेश गरी ३ जनालाई नागरिकता दिलाउनेण प्रयास गरेको आरोपमा ईलाका प्रशासन कार्यालय बुटवलबाट एक दम्पत्तिलाई नियन्त्रणमा लिइएको छ ।
बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र ४२ वर्षीय सिता कशौधनको दम्पत्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको ईलाका प्रशासन कार्यालय बुटवलका सुचना अधिकारी विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।
उनिहरुले आफ्नो छोराछोरी भन्दै २०५५ साल १० महिना ५ गते जन्म मिति र २०५९ साल १ महिना १७ गते जन्म मिति भएका दुई जनालाई छोरी र २०५६ साल ११ महिना ५ गते जन्म मिति भएका एक जनालाई छोरा भनि विवरण पेश गर्दै नागरिकता दिने प्रयास गरेका थिए ।
नागरिकता बनाउन ईलाका प्रशासन कार्यालय बुटवलमा आइतबार उपस्थित भएका उनीहरुलाई गोप्य सूचनाका आधारमा झुठा विवरण पेश गरेको थाहा भएपछि नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लगिएको थियो ।
ईलाका प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गर्दा उनीहरुले अर्कैका छोराछोरीलाई आफ्नो भनि नागरिकता दिने प्रयास गरेको भेटिएको प्रतिवेदनसहित ईलाका प्रशासन कार्यालयलाई प्राप्त भएको सुचना अधिकारी ज्ञवालीले बताए ।