बुटवल,११ असार ।
बुटवलमा यही असार १३ गते एक दिने बृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सञ्चालन हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाको आयोजना र नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको दिपक्षीय परियोजना–दिगो तथा सम्मानित रोजगारीका लागि सीप कार्यक्रम अन्तरर्गत एक दिने बृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सञ्चालन हुन लागेको हो ।

बुटवल उपमहानगरपालिकाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि मेलाबारे जानकारी गराएको हो ।
बेरोजगार युवाहरुलाई रोजगारी उपलब्ध गराउने उदेस्यका साथ यस क्षेत्रका उद्योग,ब्यवसाय,पर्यटन लगायतका क्षेत्रमा दक्ष जनशक्ति उपलब्ध गराउन बृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना गरिएको बुटवल उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष समेत रहेका बृत्ति मार्ग निर्देशन तथा रोजगार मेला संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।

पाँच हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको मेलामा बिभिन्न उद्योग प्रतिष्ठानहरुबाट दुई सय जना सीपयुक्त जनशक्तिको माग रहेको पनि संयोजक पौडेलले बताए ।

हाम्रो समाजको श्रमशक्तिलाई गुणस्तरीय बनाउदै श्रमिकहरुको सीप र क्षमता अभिबृद्धि गर्दै युवाहरुमा कामलाई सम्मान गर्ने संसकृतिको विकास गर्ने र श्रम बजारमा उनिहरुको माग र सम्मान बृद्धि गर्नका लागि स्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्न अभिप्रेरित गर्ने,रोजगारीको अवसर सिर्जन गर्ने उदेश्यले मेला आयोजना गरिएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।