बुटवल,१० असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा नीजि क्षेत्रबाट सञ्चालनमा ल्याइएको देशकै नमुना थोक बजारमा अव दैनिक हाटबजार सञ्चालन हुने भएको छ ।
किसानले उत्पादन गरेका स्वदेशी बस्तुको विक्रि वितरण गर्ने गरी उत्पादन देखि उपभोक्ता सम्म एकै थलोमा उपलब्ध गराउने गरी बजार भित्र निर्माण गरिएको ‘किसान चौतारी’मा दैनिक जसो हाट बजार (खुद्रा विक्रि ) सुरुवाता गरिएको हो ।
आईतबार एक कार्यक्रमकाबीच तिलोत्तमा वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रेले रिवन काटेर बजारको शुभारम्भ गरेका हुन् ।
प्रालिका अध्यक्ष भिमकान्त पन्थीको अध्यक्षतामा भएको बजार शुभारम्भ कार्यक्रममा तिलोत्तमा वडा नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रेले राज्यस्तरबाट स्थापना हुनुपर्ने कृषि बजार नीजि क्षेत्रबाट सञ्चालनमा ल्याइएको भन्दै त्यसमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।
उनले भने–‘राज्यस्तरबाट स्थापना हुनुपर्ने बजार नीजि व्यवसायीहरुबाट सहकारी, प्रालि मार्फत सञ्चालन हुनु आफैमा गौरवको विषय हो, यसमा हामी जहिले पनि सहयोगीको रुपमा रहन्छौ ।’
तिलोत्तमा नरपालिकाले एक वडा एक ट्याक्टर अभियान सहित किसानको उत्पादन बजारीकरणको कार्यक्रम ल्याएको जानकारी दिदै उनले त्यो कार्यक्रम संगै कृषि बजार जोडेर अगाडी बढाईने प्रतिवद्धता समेत जानाए ।
कार्यक्रममा बोल्दै बजार प्रालिका अध्यक्ष भिम कान्त पन्थीले नेपालकै नमुना बजारको रुपमा नीजी क्षेत्रका व्यवसायीहरुको पहलमा स्थापना भएको थोक बजारले बुटवल र भैरहवाका मध्यभागका किसानहरुसंगै व्यवसायी र उपभोक्ताहरुलाई जोड्ने काम गरेको बताए ।
उनले निकट भविश्यमा मणिग्राम क्षेत्रको आर्थिक गुल्जारमा यसले महत्पूर्ण भूमिका खेल्ने विस्वास ब्यक्त गरे ।
कृषिउपज थोक बजारको औपचारिक शुभारम्भ नगरिए पनि व्यवसायीहरुले विगत १ बर्ष देखि विक्रि वितरण गर्दै आएको जानकारी दिदै उनले केही संरचनाले पूर्णता पाउँदा वित्तीकै उक्त बजारको औपचारिक उद्घाटन गरिने जानकारी गराए ।
खुद्रा बजार व्यवस्थापन समितिका संयोजक महोमद् याकुवले किसान र उपभोक्ताका विचमा किसान चौतारी एउटा कोशेढुंगा सावित हुने बताए ।
कार्यक्रममा लुम्बिनी थोक व्यवसायी कृषि सहकारी संस्थाका अध्यक्ष जगदिश चन्द्र आचार्य, लुम्बिनी थोक बजार व्यवस्थापन प्रालिका संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल भुषाल (घनश्याम), खुद्रा व्यवसायी समितिका सदस्य तथा च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेश अध्यक्ष ऋषव पोखरेल, सदस्य कमल आचार्य , हाट बजार व्यवसायी समितिका उपाध्यक्ष शोभा पोखरेल लगायतले बोलेका थिए ।
प्रालिका सचिव तथा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिका पुर्व अध्यक्ष तथा सल्लाहकार केवश कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।






