पाल्पा,९ असार ।
पाल्पाको रामपुर नगरपालिका–७, मल्याङस्थित बाहुनडाँडाबाट अवैध काठसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

बाहुनडाँडाबाट किसानबारीतर्फ लैजाँदै गरेको ६० दशमलव ६ क्यूफिट काठ बोकेको लु ३ त ५६१३ नम्वरको ट्याक्टरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद अवैध सालको काठ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीले ट्याक्टर र सालको काठ नियन्त्रणमा लिएको हो ।

ट्याक्टरसहित चालक रामपुर नगरपालिका–७ का २८ वर्षीय हेमन्तबहादुर हिस्की, काठ धनी सोही ठाउँका २२ वर्षीय बुद्धिबहादुर श्रेष्ठ र काठ लोड गर्न सहयोग गर्ने सोही ठाउँका ५७ वर्षीय रामप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद काठ, ट्याक्टर, पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि सब–डिभिजन कार्यालय रामपुरमा पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।