बुटवल, ९ असार ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले रुपन्देहीको भैरहवा स्थित रमानन्द बानियाँको घर घेराउ गरेका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी बानियाँको घर नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले घेराउ गरेका हुन् ।
मिटरब्याजी पीडितहरुको आग्रहमा बानियाँको घर नियन्त्रणमा लिइएको नेकपाले दाबी गरेको छ । पीडित ऋणीको उपस्थितिमा नेकपाले शनिबार भैरहवास्थित मिलन चोक र बुद्धचोकमा रहेको बानियाँको घर घेराउ गरेको विप्लव समूहका जिल्ला नेता वीरेन्द्र विकले बताए ।

बानियाँले मिटरब्याजमा पैसा दिएर ठगी गरेको भन्दै ६२ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिएका छन् । उजुरी दिएपनि प्रशासनले वेवास्ता गरेपछि ऋणीहरुले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बानियाँबिरुद्ध मिटर ब्याज पीडितहरुको उजुरी परेको र अनुसन्धान भइरहेको बताए । तर यही आधारमा कसैले उनको घर घेराउ गरेको भए गैरकानुनी हुने उनले बताए ।