पाल्पा,४ असार ।
पाल्पामा लघुवित्त वित्तीय संस्थाको ज्यादतीविरुद्ध प्रदर्शन भएको छ ।

सोझा जनतालाई समूह बनाई बिनाधितो ऋण दिने प्रलोभनमा पारेर आर्थिक शोषण गरेको भन्दै लघुवित्त वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध उनिहरूले प्रदर्शन गरेका हुन्बा ।

पाल्पाका विभिन्न स्थानबाट भेला भएका लघुवित्त वित्तीय संस्थाका पीडितहरूले लघुवित्त वित्तीय संस्था खारेज हुनुपर्ने, लघुवित्त वित्तीय संस्थाहरूबाट लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब जनतालाई ब्याज अनुदानमा ऋण प्रदान गर्नुपर्ने माग राखेका छन् ।

वीत्तीय संस्थाहरू नवसामन्तीका रुपमा स्थापित भएको भन्दै उनीहरूले आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्नेलगायतका माग गरेका छन् ।

तानसेनको टुँडिखेलबाट सुरु भएको प्रदर्शन बजारका विभिन्न ठाउँको परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभा गरेका थिए ।

उनिहरूले लघुवित्त वित्तीय संस्थाले केन्द्र कोषको नाममा जम्मा गरेको पाँच रुपैयाँ दरले जम्मा गरेको रकम र बचत फिर्ता गर्नुपर्ने, ३३ लाखभन्दा माथिका ऋणीहरलाई पुनर्कर्जा, १३ महिनाअघि काटिएको एक किस्ता बराबरको रकम साथै चक्रवर्ती ब्याजमा असुलेको हिसाबकिताब तुरुन्त फिर्ता गर्नुपर्ने माग अगाडि सारेका छन् ।

लघुवित्त वित्तीय संस्थाले विभिन्न प्रलोभन देखाई महिलालाई समूह गठन गर्ने र आर्थिक शोषण गर्दै आएकाले आगामी दिनमा लघुवित्त जनताका लागि आवश्यक नभएको आरोप उनीहरूको छ । लघुवित्तले समूह गठन गर्दा साथै ऋण लिँदा आकर्षण देखाउने र पछि ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरेकाे उनिहरूकाे गुनासो छ ।

पाल्पाका गाउँबस्ती र सहर बजार जताततै महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा बचतको नाममा महिलाहरूलाई पीडित बनाएको संघर्ष समितिकी अध्यक्ष कृष्णमाया आलेकाे भनाइ छ ।