बुटवल,२ असार ।
बुटवलको बजारलाई गुल्जार बनाउन सामुहिक प्रयास जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलद्धारा शनिबार बुटवलमा आयोजित बर्तमान अवस्थामा ब्यापार ब्यवसायमा देखापरेको चुनौती तथा उपभोक्तामा पर्न गएको असर बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनिहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेवी अर्यालले बिगतको कुरा सम्झेर र एकले अर्कोलाई दोषारोपण गरेर बुटवलको बजार गुल्जार बन्न नसक्ने भन्दै त्यसका लागि सामुहिक प्रयास जरुरी रहेको बताइन् ।
बुटवल उपमहानगरले आगामि बर्षको नीति तथा कार्यक्रम र बजेटमा उज्यालो बुटवल र सुन्दर बुटवलको अवधारणा अनुसार विकास निर्माणलाई अगाडी बढाउन लागेको भन्दै उनले पार्किङको समस्या समाधान गर्न खाली रहेका निजि तथा सार्वजनिक जग्गा उपयोग गर्ने नीति अवलम्वन गर्ने बताइन् ।
यस क्षेत्रका उद्योगि ब्यवसायी तथा नगरवासीहरुको समस्या समाधान गर्न उपमहानगरपालिका तयार रहेको भन्दै उपप्रमुख अर्यालले बुटवलको विकासका लागि सरोकारवाला निकायहरुसँगको समन्वयमै अगाडी बढ्ने प्रतिवद्धता जनाइन्
।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका प्रदेश अध्यक्ष तेज प्रसाद पाठक,नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश महासचिब जेपी कंडेल,रूपन्देही उद्योग संघका अध्यक्ष माधव पाैडेल, उद्योग बाणिज्य संघका सचिब मुक्ति अधिकारी,रुपन्देही ब्यापार संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल,घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजुप्रसाद लिगल,होटल तथा रेष्टुरेण्ड ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी,इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापा लगायतले आ आफ्नो भनाई राखेका थिए ।






