बुटवल,१ असार ।
लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८०/०८१ का लागि आज बजेट सार्वजनिक गर्दैछ ।

शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा अर्थमन्त्री धनबहादुर मास्केले बजेट सार्वजनिक गर्ने तयारी रहेको छ ।

संघीय सरकारले २० प्रतिशतसम्म बजेट कटौती गरे पनि प्रदेश सरकारले चालु वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेश सरकारले चालु आवमा ४२ अर्ब ६३ करोडको बजेट विनियोजन गरेको थियो । आगामी वर्षका लागि प्रदेश सरकारले चालु आवको भन्दा झण्डै २ अर्ब मात्र कम गरेर बजेट सार्वजनिक गर्न लागेको हो ।

आगामी वर्षका लागि संघीय सरकारले झण्डै २८ अर्ब रकम अनुदान पठाएको छ । बाँकी रकम प्रदेश सरकारले आन्तरिक स्रोत र आन्तरिक ऋणबाट व्यवस्थापन गर्ने सरकारको तयारी छ । स्रोतका अनुसार ३८ अर्बको बजेट तयार भइसकेको छ । आन्तरिक स्रोत र ऋण अन्तर्गतको केही रकम वृद्धि गर्ने सम्भावना छ । गत वर्ष सरकारले ५ अर्बको घाटा बजेट प्रस्तुत गरेको थियो । तर, आगामी वर्ष पनि घाटा बजेट ५ अर्बकै हाराहारी हुने सम्भावना रहेको एक मन्त्रीले बताए ।

चालु वर्षको पुँजीगततर्फ २ अर्ब बढी बचत हुने सरकारको अनुमान छ । घाटा बजेटको केही रकम विकास साझेदारमार्फत पूर्ति गर्ने सरकारको तयारी छ । प्रदेश सरकारसँग एसियाली विकास बैंक, बेलायत सहयोग नियोग, यूएसएआईडी सम्पर्कमा छन् । विकास साझेदारमार्फत प्रदेशमा लगानी भित्र्याउन मुख्यमन्त्री डिल्ली चौधरीले संघीय सरकार र अर्थ मन्त्रालयबाट स्वीकृत गराइसकेका छन् ।

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेको छ । २ वर्षमा २ लाख जनालाई रोजगारी दिने महत्त्वाकांक्षी नीति कार्यक्रम सार्वजनिक गरेको सरकारले बजेट पनि त्यसकै आधारमा तयार गरिरहेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले सरकारले कृषि, रोजगारी र पर्यटनलाई आधार बनाएर नै बजेट तयार गरिरहेको बताए ।

उपाध्यक्ष केसीका अनुसार पर्यटन क्षेत्र लयमा फर्केकाले अबको १० वर्षमा ८ लाख रोजगारी सिर्जना गर्ने, प्यूठानको स्वर्गद्वारी, गुल्मीको रुरुक्षेत्र, रूपन्देहीको लुम्बिनी, बाँके र बर्दियाको राष्ट्रिय वन्यजन्तु आरक्षण केन्द्रलाई जोडेर लुम्बिनी सर्किटको विकास गर्नका लागि पनि बजेटको ठूलो रकम विनियोजन गरेको छ । त्यस्तै मुख्यमन्त्री आर्थिक विकास तथा रोजगार कार्यक्रममार्फत ‘सीप, प्रविधि र पुँजी’को विकास गर्दै रोजगारी सिर्जना गर्न पनि बजेटको ठूलो रकम विनियोजन हुने बताइएको छ ।

त्यस्तै विपन्न वर्ग, लोपोन्मुख जाति, मुक्त कमैयालाई पनि सीप विकास गर्ने गरी सरकारले बजेटको व्यवस्था गरेको छ ।

चालु वर्षका लागि सरकारले ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । त्यसमध्ये अहिलेसम्म झण्डै ४७ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृत एवं सूचना अधिकारी रवीन्द्र अर्यालले जेठ ३० गतेसम्म पुँजीगततर्फ ११ अर्ब ५६ करोड खर्च भएको बताए । चालु वर्षका लागि पुँजीगततर्फ २४ अर्ब ४७ करोड विनियोजन भएको थियो ।

प्रदेश सरकारले लुम्बिनी प्रदेशका सदस्यलाई योजना छान्ने गरी प्रत्यक्ष निर्वाचित प्रति प्रदेश सभा सदस्यलाई २ करोड २५ लाख रुपैयाँका दरले बजेट दिने भएको छ । सरकारले बजेट किताबमै सम्बोधन गर्दा विवाद बढ्ने भन्दै त्यति रकम बराबरका योजना छनोट गर्न निर्देशन दिएर बजेट दिन लागेको जनाइएको छ ।