बुटवल,३२ जेठ ।
प्रहरीले रुपन्देहीको रोहिणीबाट अवैध रुपमा भन्सार छलेर ल्याएको झन्डै १५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका ५ मा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा टायल र मल गरी १४ लाख ९६ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

जिल्लाको ओमसतिया गाउँपालिका ४ बस्ने कुलदीप हरिजनले चलाएको लु १ च ९५१८ नम्बरको पिकअप गाडीबाट ७ लाख ६८ हजार मूल्यको ८५ पेटी टायल बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बुधबार साँझ साढे ७ बजे ओमसतिया गाउँपालिका ५ सिसनियामा तनहुँ भिमाद नगरपालिका ३ बस्ने नेत्रबहादुर थापाले चलाएको ग १ ख ८९९१ नम्बरको महिन्द्रा गाडीबाट ४१ बोरा युरिया मलको गाडीसहित ७ लाख २८ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

बरामद गरिएको सामान, सवारी साधन र अभियुक्तलाई भैरहवा भन्सार कार्यालय पठाइएको अर्यालले बताए ।