बुटवल,३० जेठ ।
सरकारी ध्वजाबाहक विमान नेपाल एयरलाइन्सले आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ । मलेसियाकाे क्वालालम्पुर बाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमको जहाजका यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

निगमले काठमाडौं मलेसिया भैरहवा काठमाडौं रूटअन्तर्गत साताको एक दिन मंगलबार उडान गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए ।

निगमको न्यारोबडी जहाज मंगलबार बिहान साढे ८.४० बजे विमानस्थलमा अवतरण गरेको थियो । पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदान किराती गौतमबद्ध अन्तराष्ट्र्रिय विमानस्थल पुगेका थिए ।

जहाजले मलेसियाबाट भैरहवा आएका ३५ जना यात्रुहरुलाई छाडेर काठमाडौं गएको थियो । निगमले हरेक हप्ता मंगलबार मलेसियादेखि भैरहवा काठमाडौं उडान नियमित गर्ने जनाएको छ ।

२०७९ जेठ २ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा अहिले कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन । कुवेतको जजिरा एयरवेजले कुवेत भैरहवा नियमित उडान गर्दै आइरहेको भए पनि करिब डेढ महिनादेखि जजिराले पनि उडान रोकेको छ।