बुटवल,२८ जेठ ।
लुम्बिनी प्रदेश सरकारकाे आगामी आर्थिक बर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल हुने भएको छ ।

आज बसेकाे प्रदेश सभाको बैठकमा सभामुख तुलाराम घर्तीले नीति तथा कार्यक्रममाथि छलफलका लागि साेमबारदेखि तीन दिनकाे समय निर्धारण गरिएको जानकारी गराएका हुन् । नीति तथा कार्यक्रममाथिको छलफल यही जेठ ३१ गतेसम्म चल्ने छ ।

प्रदेश प्रमुख अमिक शेरचनले यही जेठ २६ गते प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । आइतबारको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश प्रमुख शेरचनप्रति धन्यवाद प्रस्ताव सर्वसम्मतले पारित भएको छ । धन्यवाद ज्ञापनको प्रस्तावकमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा र समर्थकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिना रहेका थिए ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर, समृद्ध र समुन्नत बनाउन रणनीतिक प्राथमिकतामा केन्द्रीत हुने गरी कार्यक्रम सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पर्यटन, भौतिक पूर्वाधारर स्वास्थ्य जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा यसअघिका सरकारले अगाडि बढाएका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

व्यावसायिक प्रवद्र्ध्न, बजारीकरण र रोजगार केन्द्रित कृषि प्रणालीलाई प्राथमिकतामा राखिएको छ । रोजगारी सिर्जना गर्ने नवीन उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ ।