धनुषा,२८ जेठ ।
नेपाल विद्युत् प्राधिकरणले पिछडिएका तथा आर्थिकरूपमा विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ ।

मधेस प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका पालिकाहरूमा बसोबास गर्ने विपन्न वर्गका परिपारलाई निःशुल्क मिटर वितरण गरेका हुन् । गौशाला र धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्रमशः ६८ र एक सय ६२ विपन्न परिवारलाई निःशुल्क मिटर वितरण प्राधिकरणले जनाएको छ ।

कार्यकारी निर्देशक घिसिङले विद्युत् नै नपुगेका ठाउँहरूको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका परिवारलाई विद्युत् पुर्‍याउन विद्युतीकरणको अन्तिम माइलको यात्रा चलिरहेको बताए ।

प्राधिकरणले देशभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत विपन्न परिवारलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको छ ।

विपन्न परिवारले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिङ्गल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । मिटरको एक हजार नाै सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम दुई वटा पोल (झन्डै एक सय मिटरसम्मकाे) सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा प्रतिघर १२ हजारदेखि १५ हजार रुपैयाँ खर्च हुन्छ ।

मधेसलाई चाँडै पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्न लागिएको उल्लेख गर्दै उनलेे विद्युत् नपुगेको ठाउँ भएमा तत्काल खबर गर्न र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह गरे । मधेस प्रदेशमा वैशाखसम्ममा वितरणतर्फको विद्युत् चुहावट १३ दशमलव २७ प्रतिशत छ ।

तराई/मधेस क्षेत्रमा सिँचाइको विद्युतीकरणका लागि धेरै माग आउने गरेको प्राधिकरणका मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

एक सय केभीएसम्मका जुनसुकै ग्राहकका लागि र दुई सय केभीएसम्म दुग्ध चिस्यान केन्द्र, शीत भण्डार, सामुदायिक खानेपानी, सामुदायिक सिँचाइलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने व्यवस्था गरिएको छ ।

मधेस प्रदेशका आठ वटा जिल्लामा प्राधिकरणका १० लाख ४४ हजार ग्राहकमध्ये गार्हस्थ्य ग्राहकको सङ्ख्या नाै लाख ३४ हजार छ । यसमध्ये घरमा पाँच एम्पियरको सिङ्गल फेज मिटर राखी मासिकरूपमा ३० रुपैयाँ तिर्ने र २० युनिट विद्युत् निःशुल्क पाउने ग्राहकको सङ्ख्या दुई लाख रहेको छ ।