पाल्पा,२७ जेठ ।
पाल्पाको हुँगीबाट ३७२ बोरा अबैध भारतीय रासायनिक मल बरामद भएको छ ।

कालीगण्डकी करिडोर अन्तर्गत पिपलडाँडा–रामपुर सडकखण्डको रम्भा गाउँपालिका–१, हुँगी पाल्पाबाट प्रहरीले ३७२ बोरा अवैध भारतीय कम्पनीको रासायनिक मल बरामद गरेको छ ।

शनिबार अवैध मलसहितको लु २ ख ३८१ नम्बरको ट्रकसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२, शान्तिचौर कसियाबाट पाल्पाको रामपुर नगरपालिका बेझाडतर्फ मल लिएर आउदै गरेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

हुँगी प्रहरी चौकीको टोलीले जाँच गर्दा ट्रकभित्र भारतीय जनउर्वरक परियोजना भारत लेखिएको युरिया मलकाे ट्रकका चालकले विल विजक देखाउन नसकेपछि उम्त रासायनिक मल बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त मल रामपुरस्थित प्रतिमा प्रतिक इन्टरप्राइजेजको नाममा आएको बताइएको छ ।

बरामद भएको ३७२ बोरा भारतीयय रासायनिक मल, त्यसका बिल, आयात गर्ने व्यापारीलगायतका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताए ।

केही दिनअघि रामपुरमै रामपुरको हराभरा कृषि सहकारीले अनुदानको मल एग्रोभेट पसललाई मल बिक्री गरेको थियो । रामपुर–७, को हराभरा कृषि सहकारी संस्थाले किसानका लागि अनुदानमा प्राप्त मल एग्रोभेटलाई बिक्री गरेको भेटिएकाे थियो ।