बुटवल,२६ जेठ ।
सरकारले ल्याएको आर्थिक विधेयक २०८० तथा आगामी आर्थिक वर्षको बजेटमाथि बुटवलमा फलफल भएको छ ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ रुपन्देहीको संयुक्त आयोजनामा शुक्रबार बुटवलमा आर्थिक विधेयक र आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि सरकारले ल्याएको बजेटका विषयमा छलफल भएको हो ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य उज्ज्वलप्रसाद कसजूले बजेटमा करको दर र दायरा बढाएको हेर्दा सरकारले राजश्वमूखी बजेट ल्याएको देखिएको बताए । जसका कारण आर्थिक बृद्धिको लक्ष्यमा पुग्न पनि कठिन हुने उनको भनाई छ ।
उनले बजेटमा कतिपय आफूहरुले उठाएका कुराहरु पनि समवेश भएको बताए । मुलुकको अर्थतन्त्रको विकासको लागि औद्योगिक विकास आवश्यक भएको भन्दै उनलेे औद्योगिक विकासको लागि विजनेश इन्कुवेशन र आईडिएसनलाई अगाडि बढाउनु पर्ने आफुहरूकाे माग बजेटमा सम्बोधन भएको बताए ।

त्यस्तै नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ रुपन्देहीका अध्यक्ष प्रदिप भट्टराईले विगत तीन वर्षको बजेटसंग अहिलेको बजेटलाई तुलना गर्दा अन्तशुल्क र मुल्य अभिबृद्धि करमा व्यापक परिवर्तन भएको बताए । आर्थिक विधेयकमा व्यवस्था गरिएका कतिपय कुराहरु अलमल्याउने खालका रहेको भन्दै उनले त्यस्ता कुराहरुलाई समाधान गर्न निजी क्षेत्रका छातासंस्थाहरुले भूमिका खेल्नुपर्नेमा जाेड दिए ।

त्यस्तै बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजूले सरकारले उद्योगी व्यवसायीलाई च्याप्ने र निचोर्ने मात्रै काम गरेको आरोप लगाए । अहिले आएको आर्थिक विधेयकले उद्योग धन्दा बन्द गरे हुने स्थिती देखिएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ रुपन्देहीका कोषाध्यक्ष सगुन खनालले बजेटमा समेटिएका कुराहरु, अघिल्लो वर्ष र अहिलेका भिन्नता लगायतका बिषयमा प्रष्ट्याएका थिए । कार्यक्रम बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।