जनकपुर,२२ जेठ ।
नागरिकता ऐन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेश र साे ऐनकाे बिराेधमा विभिन्न दलका नेताहरूले दिएका अभिब्यक्ति बिरुद्ध तराई-मधेसका जिल्लाहरूमा विरोध प्रदर्शन भएको छ ।

सर्वोच्चकाे आदेशविरुद्ध मधेस प्रदेशका विभिन्न जिल्लामा विहानैदेखि विरोध प्रदर्शन भएको हो । नागरिकताविहीन सर्वसाधारणले सर्वोच्चको घोर भ्रत्सना गर्दै विरोध प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको उनीहरूले विरोध गर्नुका साथै विरोधी दलहरूविरुद्ध नारावाजी गर्दै राजमार्गमा अवरुघ गरेका छन् भने ठाउँठाउँमा टायर बालेर आवागमन ठप्प पारेका छन् ।

प्रदर्शनकारीले ढल्केवर जनकपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् । उनीहरूले मधेस प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गर्नुका साथै धर्ना लगायतका कार्यक्रमको तालिका सार्वजनिक गरेका छन् ।

यहीँ जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । प्रमाणीकरण पश्चात् नागरिकताविहीन निकै खुसी भएका थिए । वर्तमान अवस्थामा अहिले पनि मधेसमा झन्डै पाँच लाख युवाहरू नागरिकताविहीन रहेको बताइएको छ ।

सर्वोच्च अदालतले आइतबार नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न भन्दै अल्पकालिन आदेश जारी गरेको थियो ।
नागरिकता ऐनकाे नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूले बिराेध गर्दै आएका छन् ।