लुम्बिनी,२१ जेठ ।
लुम्बिनी विकास कोषले आईतबार आगामि आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रममा सहकार्यका बिषयमा बृहत लुम्बिनी क्षेत्रका स्थानीय तहहरुसँग छलफल गरेको छ । बृहत लुम्बिनी क्षेत्रमा बुद्धस्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सहकार्य गर्ने गरि छलफल कार्यक्रम गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

बुद्धजन्मस्थल लुम्बिनीको विकाससँगै बुद्धको गृहनगर तिलौराकोट, अस्तुधातु रहेको रामग्राम र मावली देवदहका पुरातात्विक क्षेत्रहरुको संरक्षण, उत्खनन र प्रवद्र्धनमा सहकार्य गर्ने उदेश्यले छलफल कार्यक्रम गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

आगामि आर्थिक वर्षको बजेट निर्माणको पूर्व सन्ध्यामा पुरातात्विक क्षेत्रहरुको उत्खनन, संरक्षण र प्रवद्र्धनमा उपलब्धीमुलुक काम गर्नका लागि छलफल फलदायी हुने उनको विश्वास छ । उनले आगामि आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा स्थानीय सरकारसँग सहकार्यमा बृहत्तर लुम्बिनी क्षेत्रमा उत्खनन र प्रवद्र्धनमा काम गरिने बताए ।

छलफलमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँनले लुम्बिनीको बाहिरी क्षेत्रमा पनि पर्यटक लोभ्याउने गरि विकास गर्नुपर्नेमा जोड दिए । यस्तै रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्रामको संरक्षण हुन नसकेको भन्दै आफुहरु त्यहाँको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए ।

यसैगरि छलफल कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक मोहम्द खाँले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा ३ दिन बस्ने वातावरण बनाउनुपर्ने बताए । सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्माले सैनामैना पनि बुद्धसँग सम्बन्धित क्षेत्र भएको दावी गर्दै त्यहाँका पुरातात्विक क्षेत्रहरुमा उत्खननका लागि सहकार्य गर्न तयार रहेको बताए ।

छलफलका अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले पटक–पटक बृहत्तर लुम्बिनी क्षेत्रमा विकास हुन नसकेको भन्दै गुनासो आइरहेकाले त्यसलाई आगामि दिनमा सम्बोधन गर्न कार्यक्रम गरिएको बताए । उनले स्थानीय तहले पनि आफ्ना सम्पदा क्षेत्रहरुको संरक्षण र प्रवद्र्धनमा बजेट छुट्याएर जानुनपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी गुरुयोजना, बृहत्तर लुम्बिनी क्षेत्र र आगामि योजनाका बारेमा प्रस्तुती राखेका थिए । उनले रुपन्देही, कपिलबस्तु र नवलपरासीका बौद्धस्थलहरुको विकासका लागि कोषका तर्फबाट कामहरु भइरहेको बताए ।