बुटवल,१९ जेठ ।
बुटवलमा अवैध मलखादकाे काराेबार हुनेगरेकाे पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रूपन्देही,कृषि ज्ञान केन्द्र रुपन्देही र साना उद्योग कार्यालयको संयुक्त अनुगमन टोलीले शुक्रबार बुटवलमा गरेको बजार अनुगमनमा अवैध मल विक्रि गरेको फेला परेको हो ।
अनुगमनका क्रममा नेपालमा विक्रि वितरणका लागि सिफारिस नै नभएको मल खुलेयाम विक्रि हुँदै आएको फेला परेको छ ।
बुटवल–६ नेपालजञ्जरोड स्थित ढकाल एग्रोभेटमा विक्रिका लागि राखिएको ४९ बोरा अवैध मलखाद अनुगमन टोलीले बरामद गरेको छ । उक्त मलको उल्लेखित मूल्य अनुसार कूल १ लाख १७ हजार ६० रुपैयाँ नेपाली मूल्य रहेको छ ।
साे एग्राेभेटबाट नेपालमा विक्रिका लागि सिफारिस नै नभएको मुस्कान वायोफर्टीलाइजरको उत्पादन ‘२०–२०–१०’ नामक मल विक्रिका लागि राखिएको अवस्थामा मनुगमन टोलीले बरामद गरेको हो । उक्त मल नेपालमा विक्रीका लागि अनुमती नै नभएको कृषि ज्ञान केन्द्र रुपन्देहीका मल निरीक्षक अनिल कानु वानियाले बताए ।
बजारमा अवैध मल सप्लाई गर्ने मुख्य सप्लायर्सका सञ्चालक भने अनुगमनको सुइको पाएपछि पसल नै बन्द गरेर सम्पर्कविहिन भएको अनुगमन टोलीले जनाएको छ ।
बुटवल–६ आर्दशनगरमा रहेको सुव एग्रोभेट सेन्टरले यसरी अवैध मल सप्लाई गर्दै आएको कुरा खुल्न आएपछि अनुगमन टोली त्यहाँ पुग्दा सञ्चालक सुन्दर पोख्रेल पसल नै बन्द गरी सम्पर्कविहिन भएका हुन् ।
सञ्चालक पोख्रेललाई आवश्यक सोधपुछका लागि पटक–पटक प्रयास गर्दा पनि उनी फोन सम्पर्कमा आउन नचाहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । यस क्षेत्रका अधिकांश एग्रोभेटहरुलाई सप्लायर्सका रुपमा काम गर्दै आएको उक्त एग्रोभेटले ठूलो परिमाणमा अवैध मलको कारोबार गरेको हुन सक्ने भन्दै उक्त पसलमाथि आवश्यक निगरानी सुरु गरिएको लामिछानेले बताए । आवश्यक कागजात लिएर सम्बन्धित व्यक्ति प्रशासन कार्यालयमा उपस्थित नभए आवश्यक कारबाही प्रक्रिया अघि बढाउने लामिछानेले चेतावनी दिए ।
शुक्रबार दिउसो बुटवलका एग्रोभेटहरुमा अुनगमन गर्ने क्रममा नेपालगञ्ज रोडमा रहेको ढकाल एग्रोभेटमा अवैध मल भेटिएपछि अवैध कारोबारको पोल खुलेको हो । मुख्य सप्लायर्स सुव एग्रोभेट सेन्टरबाट ढकाल एग्रोभेटका सञ्चालकले मल ल्याउने गरेको बयान दिएका थिए । उक्त जानकारीसँगै अनुगमन टोली मुख्य सप्लायर्स सुव एग्रोमा अनुगमनका लागि पुगेको थियो । ‘अनुगमन टोली त्यसतर्फ आउँदै गरको सुइको पाएपछि सञ्चालक पसल नै बन्द गरेर सम्पर्क बिहीन भएका छन् ।
विगत १० वर्षदेखि मलखाद तथा बिउविजन बिक्रीवितरण गर्दै आएको साे एग्रोभेटले विषादी विक्रिवितरणको अनुमती नलिएको, ७ वर्ष बढी समयदेखि पसल नविकरण नगरेको भेटिनुका साथै म्याद गुज्रेका र अवैध सामग्री विक्रि वितरण गरेको भेटिएको छ ।
साे एग्रोभेटबाट २८ हजार ५६० रुपैयाँ मूल्य बराबरको म्याद गुज्रेका बिउविजन बरामद गरिएको कृषि ज्ञान केन्द्र रुपन्देहीका बिउविजन प्रयोगशाला प्रमुख सालिग्राम गौतमले बताए । अनुगमनका क्रममा अन्य पसलहरुमा अवस्था सामान्य देखिएपनि ढकाल एग्रोभेटमा व्यापक अनियमितता भेटिएको उनले बताए ।
अनुगमनका क्रममा ढकाल एग्रोभेटले नवलपरासीको रामग्राम–४ मा रहेको आरोही फिड्स प्रा.लि.ले नेपालका लागि सिफारिस नै नभएको धानको बिउ विक्रि गरिरहेको कुरा पत्ता लागेको छ । उक्त कम्पनीले नेपालका लागि सिफारिस नभएको गोरखनाथ जातको धानको बिउ बजारमा पठाउने गरेको भेटिएको हो ।
शुक्रबार बुटवलका आधा दर्जन बढी एग्रोभेटहरुमा अनुगमन गरेका थियो ।






