बुटवल,१८ जेठ ।
सिन्धुलीबाट संस्थागत भ्रमणमा आएको उद्योग वाणिज्य संघ सिन्धुलीको टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ ।

बिहिबार भएको स्वागत कार्यक्रममा बुटवल र सिन्धुली बिच व्यापार सहकार्य र व्यवसायिक समस्या समाधानको लागि सामुहिक पहल गर्ने विषयमा छलफल भएको थियो ।
छलफलमा बोल्दै बुटवलका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले सिन्धुलीमा उत्पादन हुने जुनार तथा भुईकटर (पाईनाएप्पल) बुटवलको बजारमा ल्याउन र बुटवल तथा आसपासको पर्यटनलाई सिन्धुलीसंग जोड्न सकियो भने त्यसले दुई जिल्ला बिचको व्यवसायिक सहकार्य थप उचाईमा पुग्ने विश्वास ब्यक्त गरे । त्यस्तै उहाँले व्यवसायीका समान प्रकृतिका समस्या समाधानको लागि सामुहिक पहलको लागि प्रस्ताव गर्दै त्यसमा बुटवल उद्योग वाणिज्य संघ तयार रहेको बताए ।
त्यस्तै सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले सिन्धुलीमा मुख्यतया जुनार र भुईकटर उत्पादन हुने जानकारी गराउँदै त्यसको व्यापार बुटवलमा पनि गर्न ईच्छुक रहेको बताए ।
उनले दुई संघ बिचको सहकार्यले दुबै स्थानका उद्योगी व्यवसायीले फाईदा लिन सक्ने बताउँदै समस्या समाधानका लागि पनि सामुहिक प्रयास गर्नुपर्नेमा जोड दिए । त्यस्तै बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार श्रेष्ठले संघको समग्र विषयबस्तुको बारेमा प्रस्तुती राखेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा सिन्धुली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अमरेशचन्द्र वैदवारले उद्योगी व्यवसायीहरुको हक हितमा काम गर्न र व्यवसायिक समस्या समाधानको लागि आफू महासंघमा गएको बताउँदै जिल्ला नगर उद्योग वाणिज्य संघका सुझाव अनुसार आफू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले सिन्धुली र बुटवलका व्यवसायीका पछिल्लो समस्या एउटै भएको बताउँदै बैंक व्याजलाई एकल विन्दुमा ल्याउन र आर्थिक चलायमान बनाउनको लागि आफूले पहल गरिरहेको बताए ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्वअध्यक्षहरु निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल,महासचिव बिमलराज भट्टराई, सचिव मुक्ति अधिकारी,सदस्य जमुना पाैडेल लगायतले भनाई राखेका थिए ।






