बुटवल,१७ जेठ ।
बुटवलको कालिकानगर स्थित सुनौलो बहुउद्देश्यीय सहकारीका दुई जना सञ्चालक तथा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहकारीका सञ्चालक समेत रहेका सिर्जना तामाङ र आर्यन क्षेत्रीलाई मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको हो ।

बचतकर्ताहरुले मंगलबार राती सहकारीको करिव ६० लाख हिनामिना गरेको आरोप लगाउंदै सहकारी घेरेपछि बुटवलको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय रामनगरका अनुसार नियन्त्रणमा लिएकाहरूमा सिर्जना तामाङ र आर्यन क्षेत्री सहकारीका कर्मचारी र सञ्चालक दुवै भएको बताएको छ ।

सहकारीले बचतकर्ताहरुको करिव ६० लाख हिनामिना गरेको बचतकर्ताहरुको आरोप छ । तर कति रकम हिनामिना गरेको हो भन्ने अझै खुलेको छैन ।

बचतकर्ताहरु बढी आक्रोशित भएर सहकारी घेरेपछि घटना घट्न सक्ने सम्भावना देखेर उनीहरुलाई नियन्त्रणमा लिएर सुरक्षित राखिएको रामनगर वडा प्रहरी कार्यालयले बताएको छ ।

सुनौलो सहकारी जिल्ला सहकारी संघ रुपन्देहीमा दर्ता नभएको जिल्ला सहकारी संघका सदस्य गंगालाल सापकोटाले जानकारी दिए ।
उक्त सहकारी बुटवल बाहिरबाट आएर सञ्चालन गरिएको बताईएको छ ।

जिल्ला बाहिर दर्ता भएर बुटवलमा सञ्चालन हुदै आएका सहकारीहरूमा त्यस्तो समस्या देखिएको जिल्ला सहकारी संघ रूपन्देहीका अध्यक्ष बसन्त ढकालले बताए ।

रूपन्देहीमै दर्ता भएर सञ्चालन भएका सहकारीहरूमा त्यस्तो समस्या नदेखिएको उनको भनाइ छ ।