बुटवल,१४ जेठ ।
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरवृद्धिसम्बन्धि आम्दा ईन्टरन्याशनल जापानसँग समझदारी गर्न बुटवलबाट एक टोली जापान प्रस्थान गरेको छ ।
आम्दा अस्पताल बुटवलका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा
बुटवल उपमहानगरपालिकाकाे टोली जापान प्रस्थान गरेको हो
।
टोलीले आम्दा अस्पतालको स्तरवृद्धि गरि ३ सय शैयामा पुर्याउने गरि समझदारी गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
आम्दा ईन्टरन्याशनलका अध्यक्ष डा शिगेरू सुगानामीको निमन्त्रणामा जापान गएको टोलीले आम्दा अस्पतालको भौतिक पूर्वाधार, स्वास्थ्य सुविधालगायतका विषयमा छलफल गरी आपसी सहकार्यका बारेमा समझदारी गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
पाण्डेय नेतृत्वको टोलीमा बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थी, अस्पतालका साझेदार बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, पूर्व अध्यक्ष जीवन वझा, आम्दा नेपालका पूर्व अध्यक्ष ऋषिकेश नारायण श्रेष्ठ, आम्दा अस्पतालका प्रमुख डा राजेन्द्र बस्याल रहेका छन् ।
टोलीले अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासलगायतका विषयमा छलफल गरेर आपसी समझदारी गर्ने बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा गत असोजमा बुटवलमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको र सोहीअनुसार अस्पताल स्तरोन्नतिका लागि समझदारी गर्ने प्रमुख पाण्डेयले बताए ।
२०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो। पचास शय्याबाट सुरु भएको अस्पतालमा हाल १०० शय्या सञ्चालनमा छन् ।
अस्पतालका अध्यक्षसमेत रहेका पाण्डेयले अस्पताललाई ३०० बेडको बनाउने र विशिष्टीकृत सेवा प्रवाह गर्ने बताए ।
अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिका, आम्दा र बुटवल उद्योग वाणिज्य संघले पहल गर्ने गरी समझदारीअनुसार आम्दा ईन्टरन्याशनलसँग समझदारी गर्ने उनले बताए ।






