बुटवल,१४ जेठ ।
बुटवलको ढवाहामा यही जेठ २५ गतेदेखि दोस्रो पीस पार्क, सांस्कृतिक तथा व्यापारीक महोत्सव-२०८० हुने भएको छ । वाली मल्टि एग्रो जोन प्रा.लि.को आयोजनामा हुन लागेको दोस्रो पिस पार्क मेला बुटवल उपमहानगरपालिका–१२ स्थित फुटबल ग्राउण्डमा जेठ २५ गतेदेखि असार १० गतेसम्म संचालन हुन लागेको हो ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गरी मेलाको तयारी बारे जानकारी गराएको छ । मेला संचालनको लागि प्रशासनबाट जेठ १८ गतेदेखि ३२ गतेसम्मको अनुमति लिएको भए पनि कक्षा १२ को परीक्षाका कारण २५ गतेदेखि मेला संचालन गर्न लागिएको वाली मल्टि एग्रो जोन प्रा.लि.का प्रबन्धक गिरी श्रीसले बताए ।

‘ जेठ १८ गतेदेखि नै मेला संचालनका लागि अनुमति लिएका थियौँ । कक्षा १२ को परीक्षा भएकाले उनीहरुको परीक्षालाई मध्यनजर गरी २५ गतेदेखि गर्न लागेका हौँ । मेलाको तयारी अन्तिम चरणमा नै पुगेको छ । मेला दिउँसो १ बजेदेखि राति १० बजेसम्म संचालन हुने छ ।’– उनले भने । साथै मेलाबाट भएको आम्दानीबाट वृद्धाआश्रम तथा अनाथ आश्रममा सहयोग गरिने र आम्दानीको ५ प्रतिशत बुटवल उपमहानगरपालिकालाई दिने सहमति भएको उनले बताए ।

पीस पार्क क्षेत्रको प्रचार–प्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको सतगढी टोल विकास संस्थाका सल्लाहाकार किरन खनालले बताए । मेलामा ८१ स्टल रहने छन् भने ३० हजार भन्दा बढी दर्शकले अवलोकन र ५० देखि ६० लाख बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । मेला अवलोकनका लागि प्रवेश खुल्क ७० देखि १०० रुपियाँसम्म कायम भएको र टिकटको शुल्क पछि तय हुने सतगढी क्लबका अध्यक्ष दिपक पुनले बताए । साथै बृद्ध बृद्धा र अपाङ्गता भएकालाई टिकटमा शतप्रतिशत छुट र विद्यार्थीहरुका लागि पनि छुटको व्यवस्था गरिने उनलेे बताए ।

मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेलाको संरक्षकमा बुटवल उपमहानगरपालिका, सह–आयोजकमा बुटवल उपमहानगरपालिका वडा नं. १२ र सहयोगि संस्थाको रुपमा सतगढी युवा क्लब ढवाहा रहेको छ । गत वर्षको रमाइलो पीस पार्क मेलामा २७ हजार दर्शकले अवलोकन गरेका थिए भने ५० लाख बढीको आर्थिक कारोबार भएको थियो ।