नवलपरासी,१३ जेठ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल जिल्ला समिति नवलपरासी पश्चिमको आयोजनामा जनयुद्धको महान् सांस्कृतिक सहिद तथा जनपत्रकार कृष्ण सेन ‘इच्छुक’ को २२ औँ स्मृति दिवसको सन्र्दभमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


कृष्ण सेन ‘इच्छुक’को २२ औँ स्मृति दिवसको अवसरमा साे
पार्टीले शनिवार बर्दघाट–२ चिसापानीमा भष्ट्राचार तथा मानव तस्करी र संसदीय ब्यवस्था बिषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपालका महाधिबेशन आयोजक समिति सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले भष्ट्राचारमा पोख्त भएको संसदीय दलाल ब्यवस्थाको अन्त्य गरेर नयाँ जनवादी तथा बैज्ञानिक समाजवादी ब्यवस्था ल्याउन अपरिहार्य रहेको बताए ।

उनले संसदीय ब्यवस्था राष्ट्रघाती जनघाती रहेको उल्लेख गर्दै यो ब्यवस्थाको अन्त्य गर्नका लागि क्रान्तिकारीहरुबीच बृहत एकता गरेर पार्टी अगाडि बढिरहेको चर्चा गरे । नेता क्षेत्रीले दलाल संसदीय ब्यवस्थाको समुल नष्ट गरेर मात्र सहिद कृष्ण सेन तथा सबै सहिदहरु प्रति सच्चा श्रद्धाञ्जली हुने विचार ब्यक्त गरे ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले संसदीय ब्यवस्था र भष्ट्रचारबीच नङ र मासुको सम्बन्ध रहेको चर्चा गर्दै जनपक्षीय लेखक पत्रकार तथा सांस्कृतिककर्मीहरुले जनतालाई संसदीय ब्यवस्थाको बिकल्पका बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपालका महाधिबेशन आयोजक समिति सदस्य समेत रहेका पाण्डेयले संसदीय ब्यवस्थामा उपप्रधानमन्त्री भईसकेका मान्छेहरु समेत नक्कली भुटानी शरणार्थी प्रकरणमा संम्लग्न हुनुले यो ब्यक्ति बिशेषको मात्र कुरा नभई ब्यवस्थाकै असफलताको बिषय भएको बताए ।

सिंहदरवार देखि वडासम्म नै संस्थागत भष्ट्राचार हुनुले दलाल संसदीय ब्यवस्थाको असफलता घाम जस्तै छर्लंग भएको उहाँको भनाई थियो ।
उनलेे नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रघात, जनघात मात्र नभई देशद्रोह समेत रहेको बताउदैं संसदवादी पार्टीहरुले यसलाई राजनीतिक दाउपेच बनाएर ढाकछोप गर्ने प्रपञ्च गरेको आरोप लगाए ।

कार्यक्रममा अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव दुर्गा नारायण चौधरीले भष्ट्राचारले देशलाई कलंकतर्फ लगेको धारणा राखे ।

कार्यक्रममा अर्का बक्ता क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता चुडामणी भण्डारीले जनताको संर्घषबाट मात्र भष्ट्राचारको अन्त्य गर्न सकिने बताए । वर्तमान सरकारले भष्ट्राचारीहरुको फाइल खोल्नु सकारात्मक रहेको उल्लेख गर्दै उनलेे बाइडबडी,ओम्नीलगायतका काण्डमा संम्लग्नहरु माथि समेत कडा कारवाही गर्नुपर्ने बताए ।

कार्यक्रममा अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य तथा बरिष्ठ साहित्यकार बाबुराम मुसाफिरले जनवादी कविता बाचन गरेका थिए । कार्यक्रममा सहभागीहरु मध्येबाट कमल गुरुङ्गले अन्तरक्रियामा बिषय राखेका थिए ।

उक्त कार्यक्रममा जेष्ठ कम्युनिष्ट समेत रहनुभएका कवि मुसाफिर , दिब्यज्योति बहुमुखी क्याम्पसको स्वबियु निर्वाचनमा निर्वाचित अखिल क्रान्तिकारीकी नेतृ बिमला गिरीलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला नेता गणेश बहादुर ढकालको संचालनमा भएको थियो ।

स्मरणीय छ, तत्कालीन शाहीसत्ताले स्रष्टा, संस्कृतिकर्मी एवं जनपक्षीय पत्रकार कृष्ण सेन ‘इच्छुक’ लाई २०५९ साल जेठ ६ गते काठमाडौँमा गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा एक सातासम्म निरन्तर शारीरिक र मानसिक यातना दिएर जेठ १३ गते हत्या गरेको थियो ।

इच्छुकलगायत महान् सांस्कृतिक सहिदहरूको स्मृति र सम्मानमा नेपालका माओवादी क्रान्तिकारीहरूले जेठ १३ गते इच्छुक स्मृति तथा बलिदान दिवस मनाउँदै आएका छन् ।