बुटवल,११ जेठ ।
बुटवलमा सञ्चालन भएकाे राेजगार मेलामा साढे पाँच सय बढीले राेजगारीकाे लागि आवेदन दिएका छन् ।

इन्टरनेशनल लेवर अर्गनाईजेशनकाे सहयाेग तथा नेपाल उद्याेग वाणिज्य महासंघ, बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाकाे संयुक्त आयाेजनामा बुधबार सम्पन्न दुई दिने राेजगार मेला (जब फेयर) मा ५ सय ५० जना बढीले आवेदन दिएकाे बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्याेग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले जानकारी दिए ।
मेलामा आउने अधिकांस कलेज पढ्ने विद्यार्थी थिए । त्यसबाहेक गृहिणी, विविध कारणले काम छाेडेर बसेका, बैदेशिक राेजगारीबाट फर्किएका लगायत रहेकाे बुटवल उद्याेग वाणिज्य संघका महासचिव विमलराज भट्टराईले बताए । त्यस्तै मेलामा यस क्षेत्रका २९ वटा उद्याेग प्रतिष्ठान सहभागी थिए । मेलामा आएर आवेदन दिएकाहरुबाट उद्याेग प्रतिष्ठानहरुमा आवश्यक जनशक्ति अनुसार प्रारम्भिक छनाैट गरिएकाे ती उद्याेग प्रतिष्ठानका प्रतिनीधिहरुले बताएका छन् ।
राेगारीकाे अवसर खाेजेर मेलामा आएकाहरुले आफ्नाे क्षमता र चाहना अनुसारकाे कामकाे छनाैट गरेका थिए भने त्यसका आधारमा उद्याेग प्रतिष्ठानले प्रारम्भिक अन्तरवार्ता गरेर सर्ट लिस्टिङ् गरेर लगिएकाे र थप अध्ययन गरेर उद्याेग प्रतिष्ठानकाे आवश्यकता अनुसार काममा बाेलाईने उनीहरुले बताएका छन् । अध्यक्ष कसजूका अनुसार मेलामा आएका २९ उद्याेग प्रतिष्ठानका लागि करिव ३ सय जनशक्ति आवश्यक थियाे ।
मेलाकाे समापन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले दक्ष जनशक्तिकाे खाेजीमा रहेका उद्याेग प्रतिष्ठान र कामकाे खाेजीमा रहेका युवाहरुका लागि मेला फलदायी हुने विश्वास व्यक्त गरिन् । उहाँले सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रबाट भएकाे भन्दै प्रशंसा गर्नुभयाे । मेलाकाे मंगलबार नेपाल उद्याेग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गरेका थिए
नेपाली युवा राेजगारीकाे लागि विदेश जानुपर्ने र नेपाली उद्याेगीले वाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता रहेकाेले यस बिचकाे तारतम्य मिलाउनकाे लागि राेजगार मेला गरिएकाे इन्टरनेशनल लेवर अर्गनाईजेशन (आई.एल.ओ.)का नेशनल प्राेजेक्ट काेर्डिनेटर साैरभराम जाेशीले बताए ।






