बुटवल,१० जेठ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पांच महिनादेखि तलब नपाएकाे भन्दै आन्दोलनमा उत्रिएका छन् ।
नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएकाे उनिहरूकाे गुनासो छ ।
पांच महिनासम्म तलब नपाउंदा घर खर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीहरुले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासंग आग्रह गरेका छन् ।
तिलाेत्तमामा ४५ जना स्थायी दरबन्दी भए पनि समायोजन संशोधन, कामकाज र कोभिड काज गरी ३२ जना दरबन्दीबाहेकका कर्मचारी छन् ।
उनिहरूले बुधबार नगरपालिका कार्यालयमै पत्रकार सम्मेलन गरी तलब नियमित पाउने सुनिश्चितता गर्न सरकारसंग माग गरेका छन् । जेठ १ गते सबै स्वास्थ्यकर्मीहरुको तर्फबाट ज्ञापनपत्र बुझाई सबै स्थायी कर्मचारीहरुलाई ७ दिन भित्र हालसम्मको तलब पाउने ब्यवस्था गर्न र आगामी दिनमा तलब नियमित पाउने गरि सुनिश्चितता गर्न भनी अनुरोध गरे पनि सुनुवाई नभएपछि चरणबद्ध आन्दोलनमा उत्रिनुपरेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
स्वास्थ्यकर्मी संघर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले तलब प्राप्तिका लागि नगर प्रमुख रामकृष्ण खांण, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसंग पटकपटक मौखिक र लिखित माग गर्दा पनि सुनुवाई नभएको गुनासो गरे ।
नगरपालिकाको नेतृत्वले हामीले १७ वटै वडाबाट स्वास्थ्य सेवा दिएका छौं भनेर प्रचार गर्ने तर ती स्वास्थ्य संस्थाका कर्मचारीको रोदन र पीडामा बेवास्ता गरेर अन्तर्राष्ट्रिय गुणस्तर चिन्हको बेइज्जत गरेको पौडेलले टिप्पणी गरे ।
तलब नपाएको विरोधमा जेठ ८ देखि हातमा कालोपट्टी बांधेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुले १२ गतेदेखि नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिका सदस्य जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले भने दरबन्दी भन्दा बढी ३३ जना कर्मचारी कार्यरत हुंदा तलब दिन नसकिएको बताए ।
स्वास्थ्यकर्मीहरुको पांच महिनाको करिब ४ करोड तलब दिन बांकी रहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । स्वास्थ्य मन्त्रालयले दरबन्दीबाहेकका कर्मचारीको तलब नपठाउँदा समस्या भएको उनले बताए ।
`यस्तो समस्या तिलोत्तमाको मात्र होइन देशभरका पालिकाका स्वास्थ्यकर्मीको समस्या हो’–अर्यालले भने–‘नगरपालिकाबाट तलब भुक्तानीका लागि पहल नभएको होइन तर संघीय सरकारले नीतिगत निर्णय नगरेसम्म यहांबाट तलब दिन सकिन्न देशभरका स्वास्थ्यकर्मीलाई २ अर्ब वजेट चाहिन्छ ।’
स्वास्थ्यकर्मीहरु भने आफूहरू स्थानीय तहमा समायोजन भएर आएकाले स्वास्थ्य मन्त्रालयसँग सरोकार नभएको बताउँछन् ।
संघर्ष समितिले समग्र बजेटको कम्तिमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा बिनियोजन गरि स्वास्थ्य क्षेत्रलाई सवल बनाउन, जनसंख्या र वडाको आधारमा दरबन्दी पुनःसंरचना गरि आधारभुत स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पु¥याउने ब्यवस्था मिलाउन,तिलोत्तमा नगरपालिका अन्तर्गतका निर्माणाधिन आनन्दवन आधारभुत अस्पताल र बिपि ग्राम आधारभुत अस्पताल यथाशिघ्र निर्माण सम्पन्न गरी नगर अस्पताल संचालन गर्न, कोभिड–१९ बिमाको रकम तत्काल भुक्तानी गर्न माग गरेको छ ।
छिमेकी बुटवल उपमहानगरपालिका, देवदहलगायतका अन्य पालिकाले आन्तरिक स्रोतबाट स्वास्थ्यकर्मीलाई तलब दिइरहेको भन्दै उनिहरूले तिलोत्तमामा भने कर्मचारीको समस्यामा गैरजिम्मेवार रवैया देखाएको गुनासो गरे ।






