बुटवल,१० जेठ ।
नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्सले) मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटाएकाे छ ।
राष्ट्रिय ध्वजावाहक निगमले मलेसिया–भैरहवा उडानका लागि ११ हजार चार सय ६१ रुपैयाँ भाडादर कायम गरेकाे हो । यसअघि निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ ताेकेकाे थियाे ।

यस्तै निगमले मलेसिया–भैरहवा–काठमाण्डौ उडानकाे प्रवर्द्धनात्मक भाडादर पनि घटाएकाे छ । यसअघि निगमले यस उडानकाे भाडादर १४ हजार सात सय २० रुपैयाँ कायम गरेकाेमा घटाएर १२ हजार तीन सय ४६ रुपैयाँ कायम गरेकाे छ ।

निगमले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ । अहिले निगमले
भैरहवाबाट हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्ने जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको छ ।

गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले हप्ताको ३ दिन अन्तर्राष्ट्रिय उडान भर्दै आएकोमा प्राविधिक कारण जनाउँदै हाल उडान राेकेपछि स्थानीय उद्योग ब्यवसायीमा निराशा छाएको बेला नेपाल एयरलाइन्सले मलेसिया उडानको तयारी गरेको हो ।