बुटवल,८ जेठ ।
मानव स्वास्थ्यसंग जाेडिएकाे दुग्ध व्यवसायमा अस्वस्थ्य प्रतिस्पर्धाका साथै बजारमा न्यून गुणस्तरको दुधको विक्रि वितरण भईरहेकोले त्यसलाई व्यवस्थित गर्नुपर्नेमा सराेकारवालाहरूले जोड दिएका छन् ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा संघ अन्तरगत गठित डेरी बस्तुगत समितिको सम्योजनमा बुटवलमा भएको अन्तरक्रिया कार्यक्रममा उक्त कुरामा जोड दिईएको हो ।

दुग्ध तथा दुग्धजन्य बस्तुको उत्पादन, वितरण प्रक्रियामा हुने गुणस्तर ह्रास तथा व्यवसायिक मापदण्ड कार्यान्वयनको अभावले मुल्य र त्यसको गुणस्तरमा सामन्जस्यता नमिलेको व्यवसायीहरु बताउँछन् । त्यस्तै बाटोबाटोमा दुधको खुद्रा विक्रि वितरणले दुधको गुणस्तरमा गिरावट आउनुको साथै त्यस्ता व्यवसायीका कारण मापदण्ड पालना गरेर व्यवसाय गरेका व्यवसायीलाई समेत असर गरेको उनीहरुको भनाई छ ।

उनिहरूले त्यसरी विक्रि वितरण हुने दुधमा गुणस्तरमा ह्रास आउनुको साथै जनस्वास्थ्यमा समेत असर गर्ने बताएका थिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्तलाई स्वच्छ र स्वस्थ्यकर दुध तथा दुग्धजन्य उत्पादनको परिपूर्तिका लागि नियमनकारी निकायले कडाईका साथ मापढण्ड कार्यान्वयन गर्नुपर्ने बताए । उनले अस्वस्थ्य प्रतिस्पधा गर्ने व्यवसायीका कारण मापदण्ड अनुसार सञ्चालन भएका व्यवसायलाई चुनौती भएको बताउँदै सम्बन्धित व्यवसायीहरु एकजुट भएर मापदण्ड कार्यान्वयनको लागि पहल गर्न पनि सुझाव दिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका शिक्षा, स्वास्थ्य तथा वित्त महाशाखा प्रमुख मित्रमणी खनालले बजारलाई व्यवस्थित गर्नको लागि नगरपालिकाले काम गरिरहेको बताउनु भयो । उनले दुधको गुणस्तर, खाद्य ऐन, अनुगमन, व्यवसाय दर्ता, मापदण्ड लगायतका बारेमा पनि जानकारी गराए ।

कार्यक्रममा बोल्दै डेरी बस्तुगत समितिका सभापति गणेशसिंह भण्डारीले विना दर्ता व्यवसाय गरिरहेका व्यवसायीलाई दर्ताको प्रक्रियामा आउन र मापदण्ड पालना गर्न आग्रह गरे ।

नेपाल डेरी एशोसियशनका थानेश्वर न्यौपाने, व्यवसायीहरु गोपाल पौडेल, जीवलाल न्यौपाने लगायतले व्यवसायीका समस्या तथा चुनौतीहरुको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै संघका कार्यसमिति सदस्यहरु बसन्तप्रसाद ढकाल, उपभोक्त हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख योगेश्वर शाह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका कार्यालय प्रमुख विमलकुमार दाहाल लगायतले मापदण्डको पालना गर्दै मर्यादित व्यवसाय सञ्चालनको लागि आग्रह गरे ।

कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।