पाल्पा,६ बैशाख ।
पाल्पाकाे तानसेन स्थित पाल्पा दरबार आसपासका घरटहरा भत्काइएकाे छ ।
पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचीमा सुतिकृत गर्ने योजनाका साथ तानसेन नगरपालिकाले मखनटोल, शीतललपाटी, बैंकरोड क्षेत्रका ५७ वटा घरटहरा भत्काउन सुरु गरेको हो ।
नगरपालिकासहित विभिन्न संघसंस्थाले सञ्चालन गरेका घरटहरामा भत्काइएको हो । पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल संगठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका छन् । यही क्षेत्रमा विक्रम संवत् २००२ देखि २०२२ सम्म तत्कालीन राणा शासकहरुले अर्को व्यवस्था नभएसम्मका लागि दिएका २४ वटा सटरसमेत परेका छन् ।
पुरातत्व विभागको पत्रका साथै सर्वदलीय, सर्वपक्षीय छलफलबाट निस्केको निष्कर्षका आधारमा सौन्दर्यीकरण तथा पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि घरटहरा हटाउने निर्णय गरेको नगरप्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए । यसअघि नगरपालिकाले नगरपालिकासँग सटर वहालसम्बन्धी गरिएको सम्झौता रद्द गरेको छ भने अन्य संघसंस्था वा सरकारी निकायहरुलाई सटरमा रहेका वहालवालाहरुलाई हटाउन ३५ दिनअघि नै पत्राचार गरेको थियो ।
संरचना हटाउन नगरपालिकाले तीन वटा डोजर, माटो सफा गर्ने पानीको फोहोरा, सामान उठाउने ट्रक तथा अन्य बन्दोबस्तीका सामान तयारी अवस्थामा राखेको छ ।
घरटहरा हटाएपछि तत्कालै त्यस स्थानमा सरसफाइ गर्ने र दरबार परिसरको ऐतिहासिकता कायम गर्ने तथा सुन्दर बनाउने नगरपालिका र पुरातत्व विभागको योजना छ । नगरपालिकाले प्रहरी प्रशासन, नगर प्रहरीसहित, आवश्यक जनशक्ति टहरा हटाउने स्थलमा खटाएर काम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।
नगरपालिकालाई भाडा दिने गरी यहाँको जग्गा व्यापारी तथा व्यवसायीलाई दिए पनि अधिकांशले विगत १३ वर्षदेखि ४५ लाख बढी भाडा नतिरेकाे नगरपालिकाले जनाएको छ ।
उनीहरूले कबोल गरेको भाडा १३ वर्षदेखि नतिरेको र त्यो सरकारी नियमानुसार अशुलउपर गर्ने नगरपालिकाले जनाएको छ । घर टहरामा बस्दै आएकाहरु भने यसरी तत्कालै भत्काउदैन भन्नेमा थिए । अधिकांशले भत्कँदैन भनेर बसेका कारण अन्तिममा सामान सार्ने हतारो भएको थियो ।
घरटहरा नहटाउन दबाब दिन व्यापारीहरूले संघर्ष समिति गठन गरेका थिए ।
संघर्ष समितिले भेला, छलफल गर्ने, मुद्दा दायर गर्नेलगायतका काममा अघि बढेकाले कतिपय व्यापारी ढुक्क भएर बसेका बेला नगरपालिका एक्स्काभेटर लगाएको एक व्यापारीले बताए । घरटहरा भत्काएसँगै टहरामा घरटहरा भाडामा लगाउने बेला हुने कमिसन र मोलमोलाइको खेल समेत सकिएको स्थानीयले बताए ।
विगतमा यहाँको टहरा भाडामा लगाउने बेलामा लाखाौ रुपैयाँको कमिसनको चलखेल हुँनेगरेकाे आराेप लाग्दै आएको थियो ।





