बुटवल,५ बैशाख ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा निर्वाचित भएकोमा संघले सम्मान गरेको छ ।
कसजुलाई मंगलबार संघ सचिवालय बुटवलमा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।
त्यसै अवसरमा राष्ट्रपतिबाट प्रज्ज्वल जनसेवा श्रीबाट विभूषित भएका संघका पूर्वअध्यक्ष तथा सल्लाहकार निर्मलप्रसाद लाकौललाई पनि सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य तथा संघका अध्यक्ष कसजूले यो जित आफ्नो मात्र जित नभएर समग्र बुटवल उद्योग बाणिज्य संघको जित भएको भन्दै आफूलाई निर्वाचित गराउन भूमिका खेलेको बुटवल उद्योग वाणिज्य संघ,संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, पूर्व अध्यक्ष तथा सल्लाहकारहरु र मतदातालाई धन्यवाद ज्ञापन गरे ।
उनले यस क्षेत्रमा विद्यमान उद्योगी व्यवसायीका समस्या समाधानको लागि महासंघमा पहल तथा पैरवी गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।
समान ग्रहण गर्दै पूर्वअध्यक्ष तथा सल्लाहकार लाकौलले राष्ट्रपतिबाट विभूषित हुन पाएकोमा खुसी व्यक्त गरे । यो प्रतिष्ठा प्राप्तिको लागि बुटवल उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले आफुलाई सम्मान गरेकामा संघप्रति आभार प्रकट गरे ।
कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले अध्यक्ष कसजूको जीतले सिंगो बुटवलको ईज्जत र प्रतिष्ठा बढाएको भन्दै यसले संघको गरिमालाई अझै माथि उठाएको उल्लेख गरे ।
संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमालले सबैको एकता र बलियो साथका कारण अध्यक्ष कसजूले महासंघमा जित्न सफल भएको बताउँदै आगामी दिनमा पनि यो एकता कायम रहिरहने विश्वास व्यक्त गरे ।
त्यस्तै पूर्वअध्यक्ष तथा सल्लाहकार अर्जुनमान सैंजूले अध्यक्ष कसजूको जीतमा एकताको बल प्रदर्शन भएको बताए । उनले आगामी दिनमा यस क्षेत्रका उद्योगी व्यवसायीका समस्या समाधानको लागि महासंघमा पहल गर्न महासंघका नवनिर्वाचित सदस्य कसजूलाई आग्रह गरे ।
कार्यक्रममा संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, सचिव मुक्ति अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा जिल्ला नगरबाट खुल्ला केन्द्रीय सदस्य पदमा कसजू ७२ मत सहित सातौं स्थानमा विजयी भएका हुन् ।
जसमा ११७ (सय प्रतिशत) मत खसेको थियो । खुल्ला तर्फबाट १८ सदस्य पदका लागि ३२ जनाको प्रतिस्पर्धा थियो ।
गएको चैत २८ र २९ मा सम्पन्न भएको महाधिवेशनबाट अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधान अनुसार चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।
आगामी कार्यकालको नेतृत्वका लागि समेत भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएको थियो ।
महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र सांघाई विच प्रतिस्पर्धा भएको थियो ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सहमतिमा वरिष्ठ उपाध्यक्षमा अञ्जन निर्वाचित भएका हुन् । त्यस्तै जिल्ला नगर उपाध्यक्षमा सुरजकृष्ण वैद्य, बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एशोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएका थिए ।





