बुटवल,५ बैशाख ।
शहरी विकास मन्त्री सीता गुरुङले स्थानीय सरकार जनताको विश्वासको शिरानी बन्नुपर्ने बताएकी छन् ।

स्थानीय सरकार नजिककाे सरकार भएको भन्दै उनलेे स्थानीय सरकारले जनताको विश्वास र भराेसा जित्ने गरि काम गर्न सक्नुपर्नेमा जाेड दिइन् ।

नगर विकास कोषद्वारा मंगलबार रुपन्देहीमा आयोजना गरेको नगरपालिका वित्त तथा क्षमता विकास सम्बन्धि प्रादेशिक कार्यशाला गोष्ठीकाे उद्घाटन गर्दै मन्त्री गुरूङले उक्त कुरा बताएकि हुन् ।

उनले नगर विकास कोषलाई सबै पालिकासम्म बिस्तार गर्नेगरी पुनर्संरचना गर्ने तयारी भएको समेत जानकारी गराइन् ।

कतिपय योजना लहडको भरमा पनि सञ्चालन हुदै आएको भन्दै मन्त्री गुरूङले त्यस्ता योजनाले जनताको जिवनस्तरमा परिवर्तन ल्याउन नसक्ने बताइन् ।

उनले स्थानीय आवश्यकता, प्राविधिक र वातावररिणीय मूल्याङ्कनको आधारमा मात्र योजना सञ्चालन गर्नुपर्नेमा जाेड दिइन् ।

भौतिक विकास कहिल्यै पुरा नहुने बतउँदै उनलेे स्थानीय तहहरु मानवसंसाधनको विकासमा पनि जोड दिनु पर्ने बताइन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनको लागि छिटो कार्यविधि बनाउन शहरी विकास मन्त्रालयकाे ध्यानाकर्षण गराए ।

सम्मेलन केन्द्र सञ्चालनको लागि उपमहानगरपालिका सक्षम रहेको बताउँदै उनले संघीय सरकारले कार्यविधि नबनाउँदा सम्मेलन केन्द्र अलपत्र पर्ने अवस्थामा पुगेको गुनाशो गरे ।

कार्यक्रममा घाेरारी उपमहामनगरपालिका प्रमुख नरुलाल चौधरी , तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, लमही नगर प्रमुख जोगराज चौधरी लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

वि.स. २०४५ सालमा स्थापना भएको नगर विकास कोषले बसपार्क, ब्यवसायीक भवन, नगरपालिका भवन, स्कुल भवन, मनोरञ्जन पार्क, फोहोरमैला ब्यवस्थापन, ढल ब्यवस्थापन लगायत १२ सय आयोजनाहरुमा ९ अर्ब ६१ करोड ऋण तथा २ अर्व २९ करोड अनुदान लगानी गरेको छ ।