पाल्पा,६ चैत ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) चुनावमा पाल्पाका चार क्याम्पसमध्ये दुई क्याम्पसमा नेबिसंघ र दुई वटामा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।
जिल्लाकाे शहीद बहुमुखी क्याम्पसमा मतदानबाट र त्रिभुवन बहुमुखी क्याम्पस, उद्बुद्ध र माण्डव्य बहुमुखी क्याम्पसमा सहमतिमा नेतृत्व चयन भएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका कृष्ण अर्याल सभापतिमा निर्वाचित भएका छन् ।
यस्तै, उपसभापतिमा अनेरास्ववियुका अमृत भट्टराई, सचिवमा अनेरास्ववियु (क्रान्तिकारी ) का ताराबहादुर रायमाझी, नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुबाट सहसचिवमा उमेश भण्डारी, कोषाध्यक्षमा अनेरास्ववियुका सन्तोष पोखरेल चयन भएका छन् ।
पाल्पाको रामपुरमा रहेकाे शहीद बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका ल्याकत अलि सभापतिमा विजयी भए । अनेरास्ववियुका उम्मेदवार सन्देश ढकाललाई ३२ मतले पछि पार्दै अलि विजयी भएका हुन् । कोषाध्यक्षमा संयुक्त प्यानलका तिलक सारु ३ सय ३१ मतसहित विजयी भएका छन् । उद्बुद्ध कलेजकाे सभापतिमा अनेरास्ववियुका केशव पंगेनी, उपसभापतिमा कमल बस्याँल, सचिव कृष्णा झापुर्लक, सहायक सचिवमा बिनिता काम्मु निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै दमकडामा रहेकाे माण्डव्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सरोज अधिकारी सभापतिमा चयन हुनुभयो । बन्दना सुनार सचिव रहेको समिति गठन भएको हो ।






