बुटवल,२ चैत ।
बुटवल स्थित बुटवल टेक्निकल इन्स्टिच्युटका संस्थापक नर्वेजियन नागरिक अड् हप्टनको निधनमा इन्स्टिच्युटले शोक मनाएको छ ।

पाल्पाको मिशन अस्पताल र बुटवलको बुटवल टेक्निकल इन्स्टिच्युटका संस्थापक हप्टनको निधनपति इन्स्टिच्युटले बिहीबार कार्यालय परिसरमा शोक मनाएको हो ।

कार्यक्रममा बुटवल टेक्निकल इन्स्टिच्युट सञ्चालक समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्व. हप्टनको निधनबाट बुटवलबासी मर्माहत भएको भन्दै उनले अगाडी सारेका योजनाहरुलाई मूर्त रुप दिनसके मात्रै उनको योगदानको कदर हुने बताए ।

पाल्पामा स्वास्थ्य र रुपन्देहीमा प्राविधिक शिक्षाको विकासमा हप्टनको ठूलो योगदान रहेको भन्दै नगर प्रमुख पाण्डेयले बिदेशी नागरिक भएर पनि नेपालको स्वास्थ्य र शिक्षाको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हप्टनका योगदानको जति चर्चा गरे पनि नसकिने बताए ।

शिक्षाको क्षेत्रमा अग्रणी स्थानमा रहेको पाल्पालाई स्वास्थ्यसँग जोड्न र प्राविधिक शिक्षा मार्फत बुटवललाई आधुनिक बुटवलको रुपमा विकास गर्न हप्टनको भुमिका महत्वपूर्ण रहेको भन्दै उनले हप्टनकै पहलमा तिनाउ,आधिखोला लगायतका जलबिद्युत आयोजना सम्पन्न भएको स्मरण गरे ।

कार्यक्रममा बिटिआई ट्रेडसमेन एशोसिएशनका अध्यक्ष चन्द्र बहादुर क्षेत्री, बुटवल टेक्निकल इन्स्टिच्युटका कार्यबाहक प्रमुख कार्यकारी निर्देशक अभिमन्यु पन्थी,पुर्ब कार्यकारी निर्देशक पि एल श्रेष्ठ लगायतले स्व.हप्टनले नेपालको शिक्षा,स्वास्थ्य र जलस्रोतको विकासमा दिएको योगदानबारे चर्चा गरेका थिए ।

उनको ९५ बर्षको उमेरमा मंगलबार राती नर्वेमा निधन भएको बुटवल टेक्निकल इन्स्टिच्युटले जनाएको छ ।

हप्टनको निधनमा शोक मनाउन बिहीबार बुटवल टेक्निकल इन्स्टिच्युट आज बन्द गरिएको थियो ।

२०२० सालमा ३ जना विद्यार्थीबाट प्राविधिक शिक्षाको पठनपाठन सुरु गरेको इन्स्टिच्युटमा हाल ३२२ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।