बुटवल ३० फागुन ।
बुटवल उपमहानगरपालिका १६ मा रहेको नरैनापुर आधारभूत विद्यालयमा विद्यार्थीको आकर्षण बढेसँगै भौतिक संरचना निर्माणमा जोड दिईएको छ ।
२०२४ सालमा स्थापना भएको विद्यालयमा भौतिक संरचना जिर्ण बन्दै गएका छन ।

मंगलबार बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले एक कार्यक्रमका बिच निर्माण सम्पन्न भएको सुविधा सम्पन्न दुई कोठे भवनको उद्घाटनसँगै दुई कोठे भवनको शिलान्याश गरेका हुन् ।

सो अवसरमा मेयर पाण्डेयले बुटवलका सबै सामुदायिक विद्यालयको शैक्षिक सुधारसँगै भौतिक रुपमा सम्पन्न गराउने पहल भईरहेको बताए । बुटवल शैक्षिक हबको रुपमा विकास भईरहेको भन्दै उनले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै जाँदा विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको बताए ।
उपमहानगरको पहिलो प्राथमिकता शिक्षा क्षेत्रको सुधार रहेको बताउँदै नगर प्रमुख पाण्डेयले सबै सामुदायिक विद्यालयको समान तरिकारले भौतिक संरचनाको विकास गरिने बताए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत २०८० को बैशाख मसान्तमा सकिने गरी दुई कोठे भवन निर्माण सुरु गरिएको हो । सरकारको २२ लाख ५० हजार र २ लाख ४९ हजार उपभोक्ता समितिको सहयोगमा भवन निर्माण हुन लागेको विद्यालका प्रधानाध्यापक अम्बिका अर्यालले जानकारी दिइन् ।
२०७८ को शैक्षिक सत्रमा ६५ विद्यार्थी रहेको विद्यालयमा अहिले बृद्धि भएर १५० पुगेको उनले बताइन् ।

उनले विद्यालयमा विद्यार्थीको संख्या बृद्धि हुँदै गएपनि भौतिक संरचनाको अभाव रहेको बताउँदै अहिले दुई कोठे भवन निर्माण भएपछि अध्यापनमा सहज भएको बताइन् ।

कक्षा ८ सम्म पढाई हुने विद्यालयमा अहिले कक्षा पाँचसम्म अंग्रेजी माध्यमबाट पढाई भईरहेको छ ।

विद्यालयले मासिक रुपमा आन्तरिक परिक्षा सञ्चालन गर्दै विद्यार्थीको शैक्षिक अवस्थाका विषयमा अभिभावकसँग निरन्तर छलफल र संवाद गर्दै जाँदा शिक्षामा सुधार देखिएको उनको भनाई थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुडामणी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १६ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल ,पुर्ववडाध्यक्ष रामप्रसाद रेग्मी, घनश्याम चौधरी, लगायतले बोलेका थिए ।