बुटवल,२३ फागुन ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले तिलोत्तमाको सरस्वती आधारभूत विद्यालयमा रंगरोगन गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
क्लवको सिग्नेचर प्रोजेक्ट स्कुल पेन्टिङ कार्यक्रम अन्तरगत तिलोत्तमा नगरपालिका वडा नं. १४ मंगलापुरमा रहेको सरस्वती आधारभूत विद्यालयमा रंगरोगन गरिएको क्लबले जनाएको छ ।
क्लवले प्रत्येक वर्ष होलीमा आर्थिक रुपमा कमजोर सामुदायिक विद्यालयमा पेन्टिङ गर्दै आएको क्लवका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी गराए । उनका अनुसार क्लवले अहिलेसम्म १२ वटा विद्यालयमा रंगरोगन गरिसकेको छ ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले विकासको लागि सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा भएको र शैक्षिक गुणस्तर सुधारको लागि नगरपालिकाले काम गरिरहेको बताए । उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन विभिन्न प्रकारका कार्यक्रम गरिरहेको उल्लेख गरे । रोटरीको विद्यालय पेन्टिङ कार्यक्रमले पनि विद्यालयको गुणस्तर सुधारमा योगदान पुग्ने उनको विश्वास छ ।
रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का ईन्कमिङ डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले क्लवले प्रत्येक वर्ष गर्दै आएको विद्यालय पेन्टिङ कार्यक्रम अरु क्लवका लागि पनि उदाहरणीय कार्य भएको बताए । शैक्षिक गुणस्तर सुधारको लागि अरु धेरै कार्यक्रममा नगरपालिकासंग सहकार्य गर्न सकिने उनको भनाई थियो ।
विद्यालयकी प्रधानाध्यापक कमला गौतमले विद्यालयमा अध्ययन गर्ने ९९ प्रतिशत वालबालिका केवट, यादव लगायतका मधेशी समुदायका रहेको जानकारी गराउदै विद्यालय रंगरोगन गरिदिएकोमा क्लवलाई धन्यवाद सहित आभार व्यक्त गरिन् ।
कार्यक्ममा क्लवका एसाइन एजी राजु खरेलले क्लवले सिग्नेचर प्रोजेक्ट विद्यालय रंगरोगन सहित अटिजम लगायतका राम्रा काममा अग्रसर रहेको बताए । त्यस अवसरमा क्लवका पूर्व अध्यक्षहरु कृष्णप्रसाद शर्मा, खिमानन्द भुसाल, सचिव शंकर पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए ।






