विश्वविद्यालयहरु नीति तर्जुमा गरेर अघि बढ्नुपर्छ : अध्यक्ष अनुदान आयोग
लुम्बिनी,२२ फागुन ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा देवराज अधिकारीलाई स्वागत तथा सम्मान गरेको छ ।
सोमबार एक कार्यक्रमकाबीच अध्यक्ष अधिकारीलाई विश्वविद्यालयले स्वागत गरेको हो ।
सो अवसरमा बोल्दै अनुदान आयोगका अध्यक्ष अधिकारीले विश्वविद्यालयको अन्र्तराष्ट्रिय मापदण्ड निर्माण भएको भन्दै सो मापदण्ड सबैले पालना गर्नुपर्ने बताए । ‘
विश्वभरका विश्वविद्यालय एउटै हुन्, यद्यपि स्थापित मापदण्ड भने सबैले पूरा गर्नुपर्छ, उनले भने –‘अनुसन्धाता, जनशक्ति विकास र सामाजिक प्रभावका विषयमा स्पष्ट दृष्टिकोण हुनुपर्छ ।’
विश्वविद्यालयलहरुले दीर्घकालिन नीति तर्जुमा गरेर मात्रै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । ‘अनुसन्धान रणनीति, शैक्षिक रणनीति विश्वविद्यालयले तर्जुमा गरिरहेको देखिदैन, अध्यक्ष अधिकारीले भन्नुभयो,–‘विश्वविद्यालयका हरेक योजनाहरु वेवसाइटमा देखिनुपर्छ । लक्ष्य तय गरेर अघि बढ्नुपर्छ ।’
शैक्षिक क्यालेण्डर निर्माण र त्यसको कार्यान्वयन नहुदा विश्वविद्यालयप्रति विश्वसनीयता कम भइरहेको भन्दै उनले १७ महिनासम्म परीक्षाको नतिजा नआउनु जस्ता गम्भिर समस्याहरु नीतिगत रुपमै समाधान गर्नुपर्ने बताए । उनले नीति बनाउन कठिन भइरहेका विश्वविद्यालयलाई अनुदान आयोगले सघाउने विश्वास ब्यक्त गरे ।
मुलुकमा नयाँ विश्वविद्यालयको आवश्यकताभन्दा पनि हाल सञ्चालित विश्वविद्यालयलाई नै गुणस्तरीय बनाउन ध्यानु दिनुपर्ने उनको धारणा छ । वार्षिक ८० हजार विद्यार्थी उच्च शिक्षाका लागि बाहिरिनु भनेको गम्भिर कुरा रहेको भन्दै उनले त्यसको निराकरणका लागि आफूले प्रयत्न गर्ने बताए ।
उनले विश्वविद्यालयहरुमा जनशक्ति र भौतिक संरचनाको अभाव रहेको भन्दै यसको पहुपक्षीय समाधान खोज्न आयोगले काम गर्ने उल्लेख गरे । ‘रिसर्च पोलिसि बोकेर अनुदान आयोगमा आउनुस, हामी सघाउँछौं, उनले भने ।
अध्यक्ष अधिकारीले लुम्बिनी बौद्ध विश्वविद्यालयले विकास गरेको भौतिक संरचनाहरुको प्रसंसा गरेको विश्वविद्यालयले जनाएको छ ।
सो अवसरमा बोल्दै विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयलाई अनुसन्धान केन्द्रित गर्ने नीति अनुरुप सातै प्रदेशमा अध्ययन तथा अनुसन्धान केन्द्र सञ्चालनको तयारी गरिएको जानकारी गराए । विश्वविद्यालयले छोटो समयमा भौतिक पूर्वाधारहरुको अभावलाई पूर्ति गरेको भन्दै अव आत्मनिर्भर रहदै चालु रहेका शैक्षिक कार्यक्रम व्यवस्थापनको चुनौति आइरहेको बताए ।
‘विशिष्टिकृत विश्वविद्यालय भएकाले जुनसुकै शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने अवस्था छैन, बौद्ध दर्शनमा विद्यार्थीको संख्या कम हुन्छ, उनले भने,–‘त्यसैले अझै केही समय विश्वविद्यालय अनुदान आयोगको सहयोग विश्वविद्यालयलाई आवश्यक रहेको छ ।’
लुम्बिनीमा कोर बुद्धिज्म, बुटवलमा मानविकी तथा सामाजिक विज्ञान र देवदहमा दीगो विकासका कार्यक्रम अन्तर्गतका शैक्षिक क्रियाकलाप अघि बढाउने योजना अनुरुप काम भइरहेको उनले जानकारी गराए । उनले भौतिक विकास भए पनि विश्वविद्यालयमा सिमित जनशक्ति हुँदा लक्ष्य अनुरुप अनुसन्धान तथा प्राज्ञिक उपलब्धी हुन नसकेको बताए । दरबन्दी व्यवस्थापन, अनुसन्धानका कार्य सञ्चालनमा अनुदान आयोगबाट विश्वविद्यालयले सहयोग अपेक्षा गरेको बताए ।
कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुंले प्राज्ञिक विकासका लागि जनशक्ति प्रमुख विषय रहेकाले अनुदान आयोगबाट त्यो समस्याको समाधान हुनुपर्नेमा जोड दिए ।
अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा गितु गिरीले विश्वविद्यालयले साना तथा मझौला अनुसन्धानका क्रियाकलापहरु गरिरहेको जानकारी दिदँै अनुसन्धानमा चाहिने जनशक्ति विश्वविद्यालयमा व्यवस्थापन हुँदा अझै प्रभावकारी काम हुने बताए ।
कार्यक्रममा परीक्षा नियन्त्रक इन्द्र प्रसाद काफ्ले, सिटी क्याम्पस बुटवलका प्रमुख फणीन्द्र कुमार न्यौपाने, प्राध्यापक संघका अध्यक्ष गुनाखर गैरे, शाखा अधिकृत गजेन्द्र गुप्ता लगायतले बोल्दै विश्वविद्यालयका लागि आवश्यक स्रोत साधन अनुदान आयोगबाट बृद्धि हुँदै जाने विश्वास गर्दै नवनियुक्त अध्यक्षलाई शुभकामना दिए । कार्यक्रम शाखा अधिकृत चुरामणि पोखरेलको सञ्चालनमा भएको थियो ।
अनुदान आयोगका अध्यक्ष अधिकारीले विश्वविद्यालयको देवदहस्थित डिन कार्यालय, बुटवलस्थित सिटी क्याम्पस तथा केन्द्रीय कार्यालयको अवलोकन गरेको विश्वविद्यालयले जनाएको छ ।






