धनगढी, २६ माघ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । प्रदेश सभाबाट विश्वासको मत लिन असफल भएपछि एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ३० दिनमै ढलेको हो ।

मुख्यमन्त्री रावलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको आजको प्रदेश सभा बैठकमा आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफल नै हुन सकेन । मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न सकेन ।

मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर निर्णायक मानिएको नागरिक उन्मुक्तिका सबै ७ जना प्रदेश सभा सदस्य बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेका हुन् ।

प्रदेशसभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नका लागि पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत पाउन नसकेका हुन् । यससँगै गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ ।

२७ पुसमा नाउपासमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

यसअघि उनलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएसँग रावलले विश्वासको मतका लागि संख्या पु¥याउन नसकेका हुन् ।
यससँगै प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
–––––