धनगढी,२५ माघ ।
आजका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयाेजनका लागि बाेलाइएकाे बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएपछि उनकै आग्रहमा बैठक स्थगित गरिएको बताइएको छ ।

प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए भोलि बस्ने बैठकमा उनलेे विश्वासको मत लिने ज नाइएको छ।

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले भोलि विश्वासको मत लिनैपर्ने हुन्छ ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिने अडानमा छ ।

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताए । सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ ।

प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका दश, माओवादी केन्द्रका सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक सदस्य रहेका छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य रहेका छन् ।