काठमाडौँ,२३ माघ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको बताएकी छन् ।
सोमवार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले संसदमा पेस गर्न बाँकी रहेको मिडिया विधेयकहरुलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताएकी हुन् ।
त्यसको लागि तत्काल सरोकारवाला निकायहरुले आवश्यक सल्लाह सुझावहरु मन्त्रालयलाई दिन पनि उनलेे आग्रह गरिन् ।
उनले आमसञ्चार क्षेत्रका लागि बनेका कानूनहरु अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानूनहरु परिमार्जन गर्न आवश्यक रहेको र त्यसमा सरकार सकारात्मक रहेको बताइन् ।
आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानून बनाउँदा सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको उनको भनाइ छ । उनले आमसञ्चार क्षेत्रको विकास,समृद्धि र सबलिकरण हुनु भनेको राज्यको सबलिकरण हुनु सरह रहेको बताइन् । देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्नअंगका रुपमा जोडिएको भन्दै मन्त्री शर्माले जनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको धारणा राखिन् ।
उनले मुलुकको राजनीतिक परिवर्तमा पत्रकारिता क्षेत्र अभिन्न रुपमा जोडिएको बताइन् ।
मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै
उनले मिडिया र सरकार सकारात्मक रुपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताइन् ।






